मकवानपुरमा ३० विघामा लगाएको गाँजा र अफिम खेती फडानी

User Image मेयरसाप डेस्क | २०८२ पुष १५ गते १५:०९
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2025-12-30-at-24257-pm.jpeg

हेटौंडा । प्रहरीले मकवानपुर जिल्लामा ३० विघा क्षेत्रफलमा लगाएको गाँजा तथा अफिम खेती फडानी गरेको छ । मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने राक्सीराङ गाउँपालिका अन्तर्गत वडा नं. १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका अन्तर्गत वडा नं. १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको लागूऔषध फाडेर नष्ट गरिएको हो ।

पौष ११ गतेदेखि पौष १४ गतेसम्म बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले २१ विघामा लगाएको अफिम र ९ बिघा क्षेत्रमा लगाएको अफिम नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुभाष चन्द्र बोहराका अनुसार लागूऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रहरूमा समेत निगरानी बढाउँदै यस्तो अभियानलाई निरन्तरता दिइनेछ। उनले अवैध लागूऔषध खेती, ओसारपसार तथा कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

प्रहरीले स्थानीय तह, जनप्रतिनिधि तथा समुदायसँग समन्वय गरी आगामी दिनमा पनि लागूऔषधविरुद्ध कडा कदम चाल्ने जनाएको छ।


Facebook Comments