कोलेनिका बाजुराबाटै करदाता सेवा सुरु, स्थानीय हर्षित
हट्यो अछाम धाउनुपर्ने बाध्यता
गोविन्द तिमिल्सेना
|
२०८२ पुष १६ गते ११:१३
बाजुरा । बाजुराको सदरमुकाम मार्तडीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) बाटै करदाता सेवा सञ्चालनमा आएको छ । नेपाल सरकारको निर्णय अनुसार अछामस्थित करदाता सेवा कार्यालय खारेज भएसँगै बाजुराबाटै यो सेवा दिन थालिएको हो ।
जिल्लामै सेवा सुरु भएपछि कर सम्बन्धी कामका लागि २० हजारभन्दा बढी खर्च गरेर अछाम धाउनुपर्ने यहाँका नागरिकको बाध्यता अन्त्य भएको छ । पुस ६ गतेदेखि सुरु भएको यस सेवाबाट विकट हिमाली गाउँपालिकादेखि जिल्लाका सबै स्थानीय तहका बासिन्दाले प्रत्यक्ष लाभ लिइरहेका छन् ।
हिमाली गाउँपालिका–६ का स्थानीय केशबहादुर रोकायाले जिल्लामै सेवा पाउँदा समय र पैसाको ठूलो बचत भएको भन्दै खुसी व्यक्त गरे । जिल्लामै कर सम्बन्धी कामकाज र व्यावसायिक फर्मको प्यान नम्बर निकाल्ने व्यवस्था भएपछि सेवाग्राहीलाई निकै सहज भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका कोष नियन्त्रक कृष्णसिंह भण्डारीले स्थानीय स्तरमै सेवा प्रवाह हुँदा नागरिक प्रत्यक्ष लाभान्वित भएको बताए । यस्तै, सूचना अधिकारी देवी खत्रीले अछामबाट हुँदै आएको करदाता सेवा जिल्लाबाटै सीमित स्रोत–साधन र जनशक्तिबीच पनि गुणस्तरीय सेवा प्रदान भइरहेको जानकारी दिए ।
उनले प्रभावकारी सेवाका लागि सरकारले थप जनशक्ति र स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । जिल्लाबाटै कर संकलन हुँदा राजस्वमा सुधार आउने र स्थानीय व्यवसाय सञ्चालनमा समेत सहजता मिल्ने अपेक्षा गरिएको छ ।
Facebook Comments