भूमि आयोग कास्कीका पूर्व अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालयको जग्गा सुकुम्बासीलाई दिएको आरोप

User Image मेयरसाप डेस्क | २०८२ पुष १६ गते १७:२९
Image of https://mayorsap.com/storage/photos/shares/photo_24.jpg

काठमाडौं । पोखराको सामुदायिक विद्यालयको जग्गा नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पोखरा महानगरपालिका–२६ स्थित अमरज्योति आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा गैर–सुकुम्बासीलाई वितरण गरी राज्यलाई १ करोड ४० लाख रुपैयाँ हानि पुर्याएको अख्तियारको ठहर छ ।

अख्तियारले भूमि आयोग कास्कीका पूर्व अध्यक्ष पोखरेलसँगै सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपालीलाई प्रतिवादी बनाएको छ । यस्तै, आयोगका सदस्यसमेत रहेका कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीमाथि पनि मुद्दा चलाइएको छ ।

अधिकृत अधिकारी यसअघि लिचीबारी जग्गा प्रकरणमा समेत मुछिएका थिए । झुटा विवरण पेस गरी पत्नी सुकुमाया कामीको नाममा जग्गा हत्याउने भीमबहादुर विकलाई पनि अख्तियारले अभियुक्त बनाएको छ ।

यो प्रकरणमा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलियाबीच भएको विवादास्पद अडियो संवादको प्रसङ्ग पनि जोडिएको छ । उक्त संवादमा भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा आर्थिक लेनदेन भएको दाबी गरिएको थियो, जसमा हाल मुद्दा खेपेका पोखरेलकै नियुक्तिबारे चर्चा भएको थियो ।

विद्यालयको सम्पत्ति व्यक्तिको नाममा पुर्याउने यो संगठित कार्यमा संलग्न सबैलाई कानुन बमोजिम सजाय र बिगो असुलको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।


Facebook Comments