घुस प्रकरणमा पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश

लिचीबारी भ्रष्टाचार प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ पुष १६ गते १८:०७
Image of https://mayorsap.com/storage/photos/shares/rajkumar-gupta.jpg

काठमाडौं । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई मुद्दाको पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार, आदेशलगत्तै उनलाई कारागार पठाउने कागजी प्रक्रिया सुरु गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तामाथि ५३ लाख रुपैयाँ घुस लिएको अभियोगमा गत असोज २२ गते मुद्दा दायर गरेको थियो ।

मन्त्री छँदा उनले मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्ने र भूमि आयोगमा नियुक्ति गरिदिने भन्दै घरजग्गा व्यवसायीसँग रकम असुलेको प्रमाण फेला परेको थियो ।

यो प्रकरणमा बिचौलियासँगको विवादास्पद अडिओ सार्वजनिक भएपछि अनुसन्धान अघि बढेको थियो । जसमा बिचौलियाले पोखराको जग्गाको काम गरिदिएबापत तत्काल २५ लाख राख्न र बाँकी काम पछि गर्ने सर्त राखेका थिए ।

पदको दुरुपयोग गरी आर्थिक लेनदेन गरेको अभियोगमा विशेष अदालतले गुप्तालाई दोषी ठहर नहुन्जेल थुनामा राख्न आदेश दिएको हो ।


Facebook Comments