ह*त्या अभियोगमा फरार गाउँपालिका अध्यक्ष मण्डल अदालतमा हाजिर

बयान सकियो, थुनछेक बहस जारी

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १०:१६
Image of https://mayorsap.com/storage/photos/shares/mandal.png

राजविराज । पुजारी हत्या अभियोगमा लामो समयदेखि फरार रहेका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल बुधबार जिल्ला अदालत सप्तरीमा हाजिर भएका छन् ।

अदालतमा हाजिर भएका मण्डलको न्यायाधीश रोमनाथ अधिकारीको इजलासमा बयान सकिएको छ, भने थुनछेक बहस जारी रहेको सूचना अधिकारी उमेशकुमार अर्यालले जानकारी दिए ।

२०५५ साउन ३ गते साविकको बेल्ही चपेना गाविसस्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या भएको थियो । उक्त हत्या प्रकरणमा मण्डलसहित सात जनाविरुद्ध २०७८ वैशाख १५ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी रहेकै अवस्थामा मण्डल २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

अभियोगपत्रका अनुसार, मन्दिरको ११ बिघा जग्गाको धान दिने विषयमा भएको विवादका कारण पुजारीको हत्या गरिएको थियो । सोही मुद्दाका अर्का अभियुक्त रामनारायण मण्डल पुस ३ गते दुई लाख रुपैयाँ धरौटीमा रिहा भएपछि अध्यक्ष मण्डल पनि अदालतमा उपस्थित भएका हुन् । 

यस मुद्दामा मण्डलका बुवा गंगाराम मण्डलसहित अन्य पाँच जना अझै फरार छन्।


Facebook Comments