सुनसरीमा सशस्त्रको बीओपी नजिकै गो-ली लागेर सिटी सफारी चालकको मृ-त्यु

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १०:१६
Image of https://mayorsap.com/storage/photos/shares/gun.jpg

सुनसरी । सुनसरीमा गोली लागेर एक जना सिटी सफारी चालकको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली लागेर साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिए । घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।

यता स्थानीयले भने सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेका छन्। साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । साहले आफ्नै सिटी सफारीमा ८/१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो । मालसामान ओसारपसारको विषयलाई लिएर लेनदेनको विवादमा सशस्त्रले गोली हानेको दाबी गर्दै स्थानीयले विरोध गरेका छन् ।


Facebook Comments