तमानखोला गाउँपालिकामा तीनतले वडा कार्यालयकाे भवन निर्माण

१ करोड ६८ लाख लागत

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १०:३१
Image of https://mayorsap.com/storage/photos/shares/odaa-office.jpg

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–३ ले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएको छ । वडाको प्रशासनिक कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रु १ करोड ६८ लाखको लागतमा आधुनिक वडा कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।

वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार, नवनिर्मित भवन तीन तलाको रहेको छ । जसमा सातवटा प्रशासनिक कोठाहरू र एक सुविधायुक्त ठुलो सभाहल निर्माण गरिएको छ ।

करिब दुई सय जना अट्ने क्षमताको उक्त सभाहलमा वडाका सार्वजनिक सुनुवाइ, तालिम तथा अन्य औपचारिक कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । ९ आना जग्गामा फैलिएको यो भवन निर्माण कार्य सकिएर अब हस्तान्तरणको अन्तिम चरणमा रहेको छ ।

वडाध्यक्ष मगरले भने, ‘निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ हामी नयाँ ठाउँबाट सेवा सुरु गर्नेछौँ। आफ्नै भवन नहुँदा साघुरो ठाउँबाट काम गर्नुपर्ने बाध्यता अब अन्त्य हुनेछ ।’

तमानखोला गाउँपालिकाले सबै वडाका आफ्नै प्रशासनिक भवन बनाउने लक्ष्य राखे पनि अझै केही वडामा समस्या देखिएको छ । हाल वडा नम्बर १ र २ को कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेका छन् । यस्तै, वडा नम्बर ६ को भवन अहिले निर्माणाधीन अवस्थामा छ, भने वडा नम्बर ५ को काम अघि बढिरहेको छ ।

वडा नम्बर ४ मा भने अझैसम्म भवन निर्माणका लागि उपयुक्त जग्गा व्यवस्थापन हुन सकेको छैन । गाउँपालिकाले जग्गा प्राप्ति पछि मात्रै उक्त वडामा भवनको प्रक्रिया अघि बढाउने जनाएको छ ।


Facebook Comments