पोखरा विमानस्थल प्रकरण : तीन जनालाई तारिखमा छाड्न आदेश

हस्ताक्षर गरेकै भरमा भ्रष्टाचार नठहर्ने

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते ११:०३
Image of https://mayorsap.com/storage/photos/shares/photo_25.jpg

काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन उपनिर्देशकलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा राख्न वा धरौटी माग्न आवश्यक नदेखिएको भन्दै सो आदेश दिएको हो ।

चिनियाँ कम्पनीसँग सम्झौता हुँदा उपनिर्देशक रहेका ती कर्मचारीहरूको लागत बढाउने जस्ता महत्त्वपूर्ण र विवादित निर्णयमा प्रत्यक्ष संलग्नता नदेखिएको अदालतको ठहर छ ।

बैठकको माइन्युट पुस्तिकामा हस्ताक्षर गरेकै आधारमा मात्र उनीहरूमाथि भ्रष्टाचारको प्रश्न उठाउन नमिल्ने भन्दै अदालतले सफाइको बाटो खुला गरिदिएको हो ।

यसअघि सोही मुद्दामा अदालतमा उपस्थित भएका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।

यद्यपि, अधिकारी हाल नलिञ्चोक हेलिपोर्ट निर्माणमा भएको अर्को भ्रष्टाचार प्रकरणका कारण थुनामा रहेका छन् ।


Facebook Comments