मटिहानी नगरपालिकाको घुम्ती सेवा शिविर प्रभावकारी बन्दै
९ दिनमा ८ हजारले लिए सेवा
मेयरसाप डेस्क
|
२०८२ पुष १७ गते १३:२९
महोत्तरी । यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको छ । मटिहानीले पछिल्ला तीन वर्षदेखि बर्सेनि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्दै आएको छ ।
यसवर्ष यही पुस ८ देखि १६ गतेसम्म नौ दिन सञ्चालित शिविरमा करिब आठ हजारले घरआँगनमै सेवा लिएको नगरपालिकाले जनाएको छ । शिविरमा नगरपालिकाबाट प्राप्त सेवा एकीकृत रुपमा प्रदान गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
‘यसपालि शिविरका बेला प्रतिकूल मौसम शीतलहर रह्यो, त्यही पनि सात हजार ९०९ जनाले सेवा लिएका छन्’ मण्डलले भने, ‘आम नागरिकलाई कार्यालयबाट दिइने सेवाप्रति नयाँ आशा जगाउन यो प्रभावकारी भएको छ ।’
शिविरमा सबैभन्दा बढी पशुपालक किसानले सेवा लिएका छन् । दुई हजार ८४९ घरपालुवा पशुको स्वास्थ्य जाँच र उपचार गरिएको छ । त्यसैगरी दुई हजार ३०१ किसानले तरकारीको बीउबिजन लिएका छन् । मटिहानी नगरक्षेत्र जिल्लामै तरकारी खेतीको पकेटक्षेत्र मानिन्छ ।
एक हजार ६३२ जनाले स्वास्थ्यचौकीबाट स्वास्थ्य जाँच र उपचार सेवा लिएका छन् । आयुर्वेद कार्यालयबाट ८७१ जनाले स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि लिएका छन् ।
१०६ ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचयपत्र बनाएको र ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको छ । ६२ वटा व्यक्तिगत घटना दर्ता र तीन जना अपाङ्गता भएकाको परिचयपत्र बनेको कार्यालयले जनाएको छ ।
Facebook Comments