समानुपातिक कोटामा 'हुनेखाने'को रजाइँ भएको भन्दै विराेध प्रदर्शन
मेयरसाप डेस्क
|
२०८२ पुष १८ गते १२:३१
काठमाडौं । संविधानको भावनाविपरीत समानुपातिक प्रतिनिधित्व प्रणालीको दुरुपयोग भएको भन्दै महिला अधिकारकर्मीहरूले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।
‘महिला अधिकारका लागि दबाब अभियान’को ब्यानरमा माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनकारीहरूले समानुपातिक कोटा सीमान्तकृत, महिला, दलित र जनजाति समुदायको अधिकारका लागि भए पनि राजनीतिक दलहरूले यसलाई धनाढ्य र पहुँचवालाहरूको आश्रयस्थल बनाएको आरोप लगाएका छन् ।
कोणसभामा बोल्दै गैरसरकारी संस्था महासङ्घका वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले पुराना दलहरूले मात्र नभई नयाँ भनिएका पार्टीहरूले पनि सम्पन्न र चर्चामा रहेका व्यक्तिलाई नै समानुपातिक सूचीमा राखेर संविधानको खिल्ली उडाएको बताइन् ।
‘समानुपातिक कोटामा हुनेखाने र आफ्ना मान्छे राख्न पाइँदैन,’ थापाले भनिन्, ‘त्यस्ता सूचीमा राखिएका व्यक्तिको नाम तुरुन्त हटाउन हाम्रो आग्रह छ ।’
युवा नेता मोनिका निरौलाले संविधानप्रदत्त अधिकारको सही प्रयोग गर्न राजनीतिक दलहरूलाई सचेत गराउँदै नेताहरूले सीमान्तकृतको भागमा आँखा नलगाउन खबरदारी गरिन् ।
प्रदर्शनकारीले समानुपातिक समावेशी अधिकारको पूर्ण पालना, दण्डहीनताको अन्त्य र नेतृत्वमा महिलाको वास्तविक सहभागिता सुनिश्चित गर्न माग गरेका छन् ।
अधिकारकर्मीहरूले समानुपातिक प्रणालीको न्यायोचित कार्यान्वयन नभएसम्म दबाब र खबरदारीका कार्यक्रम निरन्तर जारी राख्ने घोषणा गरेका छन् ।
Facebook Comments