म्याग्दी–ढोरपाटन छोटो दुरीको सडकमा पहिलो पटक गुड्यो गाडी

लोकमार्गको वैकल्पिक लाइफलाइन

User Image मेयरसाप डेस्क | २०८२ पुष १९ गते ११:१९
Image of https://mayorsap.com/storage/photos/shares/photo_34.jpg

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका हुँदै बागलुङको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन जोड्ने छोटो दुरीको सडकमा पहिलो पटक सवारीसाधन सञ्चालन भएको छ । गत असारमा ट्र्याक (मार्ग) खुलेको मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन सडकखण्ड मर्मत गरेसँगै शुक्रवार धवलागिरि गाउँपालिकाको गाडी पहिलो पटक ढोरपाटन पुगेको हो ।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेसम पुन मगरसहितको टोली मुनादेखि नयाँ सडक प्रयोग गरेर ढोरपाटन पुगेको छ । यो सडक सञ्चालनमा आएसँगै म्याग्दीको सदरमुकाम बेनीदेखि ७५ किलोमिटरको दुरीमै ढोरपाटन पुग्न सकिने भएको छ । हाल प्रयोग भइरहेको बागलुङ–ढोरपाटन सडकको दुरी १२६ किलोमिटर छ, जसको तुलनामा यो नयाँ मार्ग करिब ५१ किलोमिटर छोटो छ ।

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने यो सडक पूर्ण रूपमा सञ्चालन भएमा मध्य पहाडी लोक मार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दुरी छोटिनेछ । यसलाई पश्चिम म्याग्दीको ‘लाइफलाइन’ र मध्य पहाडी लोक मार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको छ ।

सङ्घीय सरकारको ५ करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले मरेनीदेखि जलजलासम्मको ९ किलोमिटर ट्र्याक खोलेपछि यो सम्भव भएको हो । ३ हजार मिटरभन्दा बढी उचाइमा रहेको जलजला क्षेत्रमा हिउँ नपरेको अवस्थामा अहिले जिप, ट्याक्टर र मोटरसाइकल सजिलै लैजान सकिने पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले जानकारी दिए ।

यो सडकले ढोरपाटन सिकार आरक्ष जाने पर्यटक र स्थानीयबासीलाई ठूलो राहत पुग्नेछ । काठमाडौं र पोखराबाट बेनी हुँदै ढोरपाटन पुग्न यो सबैभन्दा छोटो मार्ग हुनेछ । तर, यस खण्डका खोलाहरूमा मोटरेबल पुल नभएकाले बर्खामा भने यातायात सञ्चालनमा चुनौती रहेको छ । प्रदेश सरकारले पनि दरवाङदेखि मुनासम्मको सडक स्तरोन्नतिका लागि योजना अघि बढाएको छ ।


Facebook Comments