गुल्मीमा थप ३० प्रजातिका चरा भेटिए

User Image मेयरसाप डेस्क | २०८२ पुष १९ गते १२:१४
Image of https://mayorsap.com/storage/photos/shares/chara-copy.jpeg

गुल्मी । गुल्मी जिल्लामा चरा संरक्षण र पर्यापर्यटनका क्षेत्रमा नयाँ उत्साह थपिएको छ । नेपाल पन्छी संरक्षण सङ्घले हालै गरेको सर्वेक्षणमा जिल्लामा थप ३० नयाँ प्रजातिका चराहरू फेला परेका छन् । योसँगै गुल्मीमा अभिलेख गरिएका चराका प्रजातिहरूको सङ्ख्या ३५५ पुगेको छ ।

सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईका अनुसार यसपटक रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रका साथै पहिलो पटक थाप्ले सत्यवती वन क्षेत्रमा पनि सर्वेक्षण गरिएको थियो । नयाँ भेटिएका प्रजातिहरूमा तिलहरी, मोटो ठूँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख र सिम कुखुरा लगायत रहेका छन् ।

नेपालमा पाइने कुल ९०३ प्रजातिका चरामध्ये करिब ४० प्रतिशत गुल्मीमा पाइएका छन् । गुल्मीमा विश्वमै दुर्लभ मानिएका ६ प्रजातिका चराहरू (चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल) संरक्षित छन् ।

रेसुङ्गामा २७६, मदानेमा २८९ र थाप्ले सत्यवतीमा १९६ प्रजातिका चरा रेकर्ड गरिएका छन् । नेपालको रैथाने चरा ’काँडे भ्याकुर’ जिल्लाका तीनै वटा संरक्षण क्षेत्रमा भेटिएको सङ्घले जनाएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले चराहरूको यो बढ्दो तथ्याङ्कले जिल्लामा चरा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको बताए । सङ्घले स्थानीयको जीविकोपार्जन र वन संरक्षणलाई जोड्ने विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।


Facebook Comments