त्रिपाल र टिनको टहराबाट सेवा दिँदै मालुमेला स्वास्थ्य चौकी

बझाङ भूकम्पको दुई वर्ष

User Image डीबी विष्ट | २०८२ पुष २० गते ११:४९
Image of https://mayorsap.com/storage/photos/shares/photo_39.jpg

बझाङ । २०८० असोज १६ गते बझाङलाई केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पले जिल्लामा अपूरणीय क्षति पुर्‍यायो । सो विपद्मा १ जनाको मृत्यु भयो भने २१ जना घाइते भए । भौतिक क्षतितर्फ २ हजार ८ सय ९५ घर पूर्ण रूपमा ध्वस्त भए भने ६ हजार १ सय ४० घरमा आंशिक क्षति पुग्यो । निजी आवास मात्र नभई स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकी र सामुदायिक भवनहरू समेत क्षतविक्षत भए ।

भूकम्प लगत्तै सरकारले घरबारविहीन भएका नागरिकका लागि अस्थायी टहरा निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गर्‍यो, जुन कार्यान्वयनमा पनि आयो । धेरै नागरिकले टिनका टहरा बनाएर ओत लाग्ने ठाउँ त पाए, तर जनस्वास्थ्यसँग जोडिएका सरकारी भवनहरूको अवस्था भने दुई वर्ष बितिसक्दा पनि उस्तै छ । 

विशेषगरी, विपद्मा परेका नागरिकलाई बचाउन र उपचार गर्न बनेका स्वास्थ्य चौकीहरू आफैँ थला परेका छन् । पूर्ण रूपमा क्षति भएका स्वास्थ्य चौकीहरू अहिले त्रिपाल र टिनको अस्थायी टहरा निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् । यस्तै सेवा प्रवाह गर्नेमध्ये थलारा गाउँपालिका–९ स्थित मालुमेला स्वास्थ्य चौकी एक हो ।

नेपालको संविधानको भाग ३, धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ । तर, थलारा गाउँपालिका वडा नम्बर ९ स्थित मालुमेला स्वास्थ्य चौकीको अवस्था हेर्दा यो संवैधानिक हकबाट नागरिक वञ्चित हुनु परेको छ ।

भूकम्पले भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि यहाँका नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । बालबालिकाहरूलाई नियमित लगाइने विभिन्न रोग विरुद्धका खोप अभियानहरू प्रभावित भएका छन् । भत्केको भवनभित्र पस्न सक्ने स्थिति छैन, जसका कारण स्वास्थ्यकर्मीहरूले बाहिर त्रिपाल र टिनको अस्थायी टहरामा जोखिम मोलेरै सेवा प्रवाह गरिरहेका छन् ।

आश्वासन मात्रै, समाधान शून्य
भूकम्पपछि बझाङ पुगेर नागरिकलाई सान्त्वना दिन विशिष्ट व्यक्तिहरूको ताँती नै लाग्यो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका सभामुख भीम बहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने लगायतले जिल्लाको वस्तुस्थितिको जानकारी लिए ।

उच्च पदस्थ व्यक्तिहरूले मालुमेला स्वास्थ्य चौकीको समेत स्थलगत अनुगमन गरी तत्काल भवन निर्माण गर्ने र सेवा प्रवाहमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । रास्वपा सभापति रवि लामिछानेले जतिसक्दो चाँडो स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई त्रिपालमुनिबाट भवनमा सारिने आश्वासन दिएका थिए ।

मुख्यमन्त्री कमल बहादुर शाहले ५–६ महिनाभित्रै बजेट व्यवस्थापन गरेर भवन बनाउने घोषणा गरेका थिए । तर, ती आश्वासनहरू आश्वासनमै सीमित भए । दुई वर्ष बितिसक्दा पनि स्वास्थ्य चौकी त्रिपाल र टिनकै भरमा सेवा सञ्चालन गरिरहेका छन् । नेताहरू केवल ताली पाउन र खादा–माला लगाउन मात्रै यहाँ आएका स्थानीयको गुनासो छ ।

सुत्केरी र गर्भवतीलाई सास्ती
स्वास्थ्य चौकीको भवन नहुँदा सबैभन्दा ठूलो मारमा सुत्केरी र गर्भवती महिलाहरू परेका छन् । स्वास्थ्य मापदण्डअनुसारको सुरक्षित सुत्केरी गराउने कोठा (बर्थिङ सेन्टर) नहुँदा महिलाहरूले ज्यान जोखिममा राखेर टिनको टहरामा सन्तान जन्माउनु परिरहेको छ ।

थलारा–९ की निलम विष्टले भदौ ३ गते सुत्केरी व्यथा लाग्दा मालुमेला स्वास्थ्य चौकीमा निकै सास्ती खेप्नुपर्‍यो । टिनको साँघुरो टहरामा सुत्केरी हुँदा उनलाई आफ्नो भन्दा बढी चिन्ता नवजात शिशुको थियो ।

यस्तै पीडा निर्मला भण्डारीले पनि भोगिन् । पानी परिरहेको दिन उनलाई सुत्केरी गराउँदा चुहिरहेको त्रिपालमुनि अनमि अमला रावलले छाता ओढाएरै सेवा दिएकी थिइन् ।

पछिल्लो समय पद्मा विकले पनि यस्तै समस्या भोगिन् । रातिको समयमा व्यथा लागेर स्वास्थ्य चौकी पुगेकी उनलाई विद्युत् नहुँदा मोबाइलको उज्यालोको सहायताले सुत्केरी गराइएको थियो ।

ठाउँ अभावका कारण सुत्केरी आमा र शिशुलाई २–४ दिनसम्म आराम गराउनुपर्ने भए पनि चिसो र जोखिमका कारण तत्कालै घर पठाउनु पर्ने बाध्यता छ । यस्ता घटनाले आमा र शिशु दुवैको स्वास्थ्यमा खतरा निम्त्याइरहेको छ ।

मालुमेला स्वास्थ्य चौकीका इन्चार्ज एच.ए. सुनिल अधिकारीका अनुसार, स्वास्थ्यकर्मीहरू आफैँ चिराचिरा परेको भवनको एउटा कोठामा बस्दै आएका छन् । ‘अरूलाई बचाउन खोज्दा कुन दिन आफ्नै ज्यान जाने हो थाहा छैन,’ उनले भने । 

गाउँपालिकाले अस्थायी सञ्चालनका लागि ५ लाख ५० हजारको लगानीमा टिनको टहरा बनाइदिएको त छ, तर त्यो स्वास्थ्य मापदण्ड अनुसार पर्याप्त छैन । अनमि अमला रावलले भनिन्, ‘भूकम्पले सुत्केरी र गर्भवती महिला चेकजाँच गराउने कोठा पूर्ण रूपमा क्षति भएपछि हामीले निकै कठिन परिस्थितिमा सेवा दिइरहेका छौँ । साँघुरो टिनको टहरामा सफाइ गर्न र सामग्री राख्न पनि उत्तिकै चुनौती छ ।’

बजेट विनियोजनमा उपेक्षा
भवन पुन: निर्माणका लागि पहल नभएको भने होइन । मालुमेला स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा ९ का अध्यक्ष लोकेन्द्र बहादुर विष्टले भवन निर्माणका लागि फाइल बोकेर प्रदेश र केन्द्रसम्म धाए पनि केवल आश्वासन मात्र पाएको गुनासो गरे । 

उनले भने, ‘हामीले मुख्यमन्त्रीको सचिवालयसम्म हारगुहार गर्‍यौँ, तर बजेट विनियोजन हुँदा नातावाद र पहुँचका आधारमा मात्रै योजना परे । अति आवश्यक रहेको स्वास्थ्य चौकी जस्तो क्षेत्रलाई उपेक्षा गरियो ।’

स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीले मालुमेला लगायत जिल्लाका तीन वटा स्वास्थ्य चौकी पूर्ण रूपमा र ४१ वटा आंशिक रूपमा क्षति भएको बताए । प्रदेश सरकारलाई पत्राचार गरे पनि हालसम्म बजेटको कुनै टुङ्गो नलागेको उनी बताउँछन् ।

यता थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकायाले पालिकाको बजेटले मात्र ठूलो भवन बनाउन सम्भव नभएको र संघीय तथा प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाए ।

कतैबाट बजेटको सुनिश्चितता नभएपछि गाउँपालिले ५ लाख ५० हजार बजेट विनियोजन गरेर त्रिपालबाट अहिले टिनको टहरा निर्माण गरी बाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।

भूकम्पले भवन मात्र भत्काएको छैन, यहाँका विपन्न नागरिकको राज्यप्रतिको विश्वास पनि डगमगाइदिएको छ । उच्च पदस्थ नेताहरूले दिएको आश्वासन ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ ।


Facebook Comments