बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १०:२०
बागलुङ । बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो ।
अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको थियो । उक्त खण्ड निर्माण गरिरहेको ठेकेदार कम्पनीले समयमा भुक्तानी नपाएपछि काम अलपत्र थियो । डेढ वर्ष रोकिएर गत वर्ष निर्माण सम्पन्न भएको छ ।
सदरमुकाम बागलुङ बजारदेखि १० किमी खण्डमा काम गरेको निर्माण कम्पनीले भुक्तानी पाएर फर्किएको छ । वडा कार्यालयदेखिको खण्ड निर्माणका लागि राज्यले ठेक्कासमेत लगाउन सकेको छैन । बजेट अभावले भएका योजनासमेत फिर्ता गरेको सरकारले रणनीतिक सडक कहिले पूरा गर्ने भन्ने एकिन गरेको छैन ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं २ अन्तर्गतको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको पहिलो खण्डको ठेक्कासमेत पूरा हुनसकेको छैन । अहिले केही काम भएको देखिए पनि पूरा हुने÷नहुनेमा स्थानीय विश्वस्त हुनसकेका छैनन् । यो सडकको म्याद थप भएपछि मात्र ठेकेदार कम्पनीले आठ किमी सडकखण्डमा काम थालेको छ ।
तोकिएको समयमा २५ प्रतिशतमात्र काम गरेको ठेकेदार कम्पनीले अहिले भने पाँच किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ । केही समयअघिदेखि नै काम थालेर ७० प्रतिशत भौतिक प्रगति गरेको वल्र्ड वाइडर पूर्ण संयुक्त निर्माण कम्पनीले जनाएको छ । कम्पनीले अप्ठ्यारोमा ढलान गरेको छ भने सहज खण्डमा कालोपत्र गर्ने तयारी थालेको छ ।
यसअघि समयमा रकम भुक्तानी नपाउँदा ठेकेदारले काम छाडेर हिँडेका थिए । काम गरेको साढे तीन करोड भुक्तानी नपाएपछि ठेकेदारले अघिल्लो वर्ष काम छाडेपछि म्याद सकिएको थियो । म्याद थपसँगै रकम पाउने प्रतिबद्वतापछि काम सुरु भएको हो । इन्जिनियर सागर भण्डारीले आगामी वैशाखसम्म काम सक्ने योजना रहेको बताए। विसं २०७९ को भदौमा यो सडकको रु २५ करोड २० लाखमा ठेक्का सम्झौता भएको थियो ।
यस्तै, कुश्मीसेरा–बरेङ जोड्ने रणनीतिक सडकमा पनि ठेकेदारले काम अलपत्र छाडेपछि स्थानीय चिन्तित थिए । उपभोक्ताले सङ्घर्ष समिति बनाएर मुख्यमन्त्रीलाई आग्रह गरेपछि बजेटको सुनिश्चितता भएको थियो । अहिले काम सुरु भएको यो सडकको नाम्दुकदेखि बरेङसम्म कालोपत्र भइसकेको छभने कुश्मीसेरादेखि राङखानीसम्म गर्ने तयारी भइरहेको छ । बजेट अभावले तमानखोलाको बोङगादोभान–सोलेडाँडा जोड्ने सडकमा काम हुनसकेको छैन ।
Facebook Comments