भवन निर्माणको बजेट हिनामिना प्रकरणमा ४ जनाविरुद्ध मुद्दा
उदयपुरको सामुदायिक वनमा भ्रष्टाचार
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १७:२९
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकास्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू भ्रष्टाचार मुद्दामा तानिएका छन् ।
भवन निर्माणमा भएको वास्तविक खर्चभन्दा बढी रकम भुक्तानी लिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले समूहकी अध्यक्ष मिनाकुमारी चौधरी, सचिव जानकीकुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारू र लेखा परीक्षक तनुकलाल चौधरीलाई प्रतिवादी बनाएको छ ।
आर्थिक वर्ष २०७७–७८ मा सामुदायिक वनको भवन निर्माण गर्दा ४ लाख ९५ हजार रुपैयाँ मात्र खर्च भएकोमा ८ लाख ८ हजार रुपैयाँ खर्च भएको नक्कली विवरण पेश गरी ३ लाख १३ हजार रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यति मात्र नभई, २०७८ पुसको साधारण सभाबाट समेत १ लाख १६ हजार रुपैयाँभन्दा बढी अनावश्यक भुक्तानी लिएको पाइएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीहरूले विभिन्न समयमा गरी कूल ५ लाख १५ हजार ३०२ रुपैयाँ सरकारी रकम हानीनोक्सानी पुर्याएका छन् ।
अख्तियारले उनीहरूबाट हिनामिना भएको रकम बराबरको बिगो असुल गरी कानुन बमोजिम सजाय गर्न माग गरेको छ ।
Facebook Comments