सुनसरी–१ बाट चुनाव लड्ने हर्क साम्पाङको उद्घोष
मेयरसाप डेस्क
|
२०८२ पुष २३ गते १४:०४
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले ‘जय माटो, जय देश’को नारासहित चुनावी मैदानमा उत्रने स्पष्ट पारेका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर निर्वाचित साम्पाङले पछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गराएका थिए ।
साम्पाङको उम्मेदवारी घोषणासँगै सुनसरी–१ मा चुनावी सरगर्मी बढेको छ । यसअघि एमाले–जसपा गठबन्धनबाट अशोक राई विजयी भएको यस क्षेत्रमा यसपटक नेकपा एमालेले मन्जु भण्डारी, जयकुमार राई र टिका माङ्लेन लगायतको नाम सिफारिस गरेको छ ।
उता नेपाली कांग्रेसले पनि उमेश थापा, मीनबहादुर विश्वकर्मासहित आठ जनाको नाम प्रत्यक्षतर्फका लागि सिफारिस गरिसकेको छ । मेयरको पदमा बहाल रहेकै अवस्थामा साम्पाङले प्रतिनिधि सभा ताकेपछि यो क्षेत्रको प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।
Facebook Comments