राष्ट्रिय सभालाई प्रभावकारी सदन बनाउन मेरो भूमिका रहन्छ : झाँक्री

User Image मेयरसाप डेस्क | २०८२ पुष २३ गते १७:०२
Image of https://mayorsap.com/storage/photos/shares/ramkumari_3.jpg

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहीन नभई प्रभावकारी सदनको रूपमा स्थापित गर्ने अठोट व्यक्त गरेकी छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो सदनका बारेमा समाजमा रहेको कमजोर बुझाइलाई चिर्ने र संविधानको मर्म स्थापित गर्ने कार्यमा आफ्नो सक्रियता रहने बताइन् ।

झाँक्रीले राष्ट्रिय सभाले महत्त्वपूर्ण कानुन निर्माणमा खेल्दै आएको भूमिकाको चर्चा गर्दै आफ्नो टिमले यस सदनको गरिमा र प्रभावकारितालाई व्यवहारमै प्रमाणित गरेर देखाउने दाबी गरिन् ।

दलीय व्यवस्थामा व्यक्तिको ‘हिरोइजम’ भन्दा पनि पार्टीको विचार, सिद्धान्त र कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले पार्टीले सुम्पिएको यो नयाँ जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।

राष्ट्रिय सभा विज्ञ र अनुभवीहरूको थलो भएकाले त्यहाँ नयाँ र सिर्जनात्मक अभ्यासको सुरुवात गर्नुपर्ने उनको भनाइ छ ।


Facebook Comments