सल्यानको विकटता : दुई घण्टाको पैदल यात्रापछि मात्र सिटामोल
स्वास्थ्य संस्था नहुँदा स्थानीयको बिचल्ली
मेयरसाप डेस्क
|
२०८२ पुष २३ गते १७:१६
सल्यान । सल्यानको कुमाख गाउँपालिका–२, खारखोला लंगेटाका बासिन्दा भौगोलिक विकटता र स्वास्थ्य संस्थाको अभावका कारण सामान्य उपचारका लागि पनि घण्टौँ हिँड्न बाध्य छन् ।
हालै स्थानीय ५० वर्षीय रूपलाल ओलीलाई ज्वरो आउँदा परिवारले आधा घण्टा बोकेर सडकसम्म ल्याए पनि गाडी नपाएपछि साढे दुई घण्टाको पैदल यात्रा गरी नेटा बजार पुर्याउनु परेको थियो । त्यहाँ उनले सामान्य सिटामोल मात्रै पाए ।
यो समस्या रूपलालको मात्र होइन, लंगेटाका करिब ३० घरपरिवारले वर्षौँदेखि यस्तै सास्ती भोग्दै आएका छन् । गाउँ नजिकै न त कुनै मेडिकल छ, न त आधारभूत स्वास्थ्य केन्द्र नै । सडक खनिए पनि मर्मत नहुँदा गाडी चल्दैनन्, जसका कारण बिरामीलाई अस्पताल पुर्याउनु युद्ध जिते जस्तै कठिन छ ।
गर्भवती महिलाहरूले नियमित स्वास्थ्य परीक्षण गराउन पाएका छैनन् भने कतिपयको बाटैमा असुरक्षित सुत्केरी हुने जोखिम समेत रहेको स्थानीय सीता ओली बताउँछिन् ।
सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने अवधारणा ल्याए पनि कुमाखको अस्पताल आफूहरूका लागि निकै टाढा रहेको स्थानीयको गुनासो छ ।
वडा सदस्य लालबहादुर रावतका अनुसार, सडक निर्माणमा ५० लाखभन्दा बढी खर्च भए पनि सुधार नहुँदा आधा घण्टामा पुगिने ठाउँका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता हटेको छैन ।
वडाध्यक्ष ईश्वरी शाहीले स्वास्थ्य संस्था नेटा बजारमा सारिए पनि लंगेटाबासीको समस्या अझै समाधान हुन नसकेको स्वीकार गर्दै बेलाबेलामा स्वास्थ्य शिविर सञ्चालन गरी राहत दिने प्रयास भइरहेको बताएका छन् ।
Facebook Comments