छिपहरमाई गाउँपालिकाका अध्यक्ष र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
सूचना नै नछापी साढे ४ लाख झ्वाम
मेयरसाप डेस्क
|
२०८२ पुष २३ गते १७:२७
काठमाडौं । पर्साको छिपहरमाई गाउँपालिकामा बोलपत्र (टेन्डर) आह्वानको झुट्टा सूचना खडा गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्षसहितका कर्मचारी र व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७९–०८० मा विभिन्न निर्माण योजनाहरूको बोलपत्र राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित नै नगरी छापिएको भनी नक्कली प्रतिवेदन पेस गरेर सरकारी रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको हो ।
अख्तियारका अनुसार गाउँपालिकाले खानेपानी ट्युबवेल, स्टेडियम र भवन निर्माणका लागि २०७९ माघ १७ र फागुन १९ गते ‘सौर्य दैनिक’ पत्रिकामा सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो ।
तर, प्रेस काउन्सिल नेपाल र स्वयं पत्रिका प्रकाशकबाट प्राप्त आधिकारिक हार्ड कपी र ’पिडिएफ’ प्रति जाँच गर्दा उक्त मितिका पत्रिकाहरूमा गाउँपालिकाको कुनै पनि सूचना फेला परेन । सूचना विवरण लुकाउने र आफ्ना निकटका मान्छेलाई ठेक्का दिने योजनाबद्ध बदनियतका साथ नक्कली अंक खडा गरी झुट्टा विवरण पेस गरिएको अख्तियारको ठहर छ ।
यस प्रकरणमा गाउँपालिका अध्यक्ष मनोज कुमारले कर्मचारीले गर्नुपर्ने पत्राचार आफैँ गरी विज्ञापन एजेन्सी के.एस.मल्टिपर्पोज प्रालिलाई कार्यादेश दिएका थिए । सोही एजेन्सीले बुझाएको झुट्टा सूचनाका आधारमा दुई पटक गरी कुल ४ लाख २९ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको छ ।
गैरकानुनी लाभ पुर्याउने कार्यमा संलग्न रहेको भन्दै अख्तियारले गाउँपालिका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, लेखापाल संजय पटेल र एजेन्सी सञ्चालक कमल उपाध्यायलाई प्रतिवादी बनाएर आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
हेर्नुहोस् दायर गरिएको ओरोपपत्र:–


Facebook Comments