जेन–जी आन्दोलनमा २ अर्ब ८१ करोडको सम्पत्तिमा क्षति

साढे २३ करोडका नोट जले

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते १७:२१
Image of https://mayorsap.com/storage/photos/shares/Singadurbar on fire.jpg

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशले ठूलो मात्रामा नगद र बहुमूल्य सम्पत्ति गुमाएको तथ्य सार्वजनिक भएको छ ।

अन्तरिम सरकारद्वारा गठित ‘क्षति मूल्याङ्कन समिति’को प्रतिवेदन २०८२ अनुसार, उक्त आन्दोलनमा मात्रै २३ करोड ६९ लाख रुपैयाँ बराबरका नोटहरू जलेर खरानी भएका छन् ।

नगद, सुनचाँदी र हिरामोती लगायतका बहुमूल्य वस्तुमा भएको कुल क्षति २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबर रहेको प्रतिवेदनले औँल्याएको छ ।

कहाँ कति क्षति भयो?
नोटहरू जल्नुका साथै चोरी र तोडफोडका कारण नगदमा मात्रै ७८ करोड ५० लाखभन्दा बढीको नोक्सानी भएको छ । जसमध्ये ३२ करोड ८१ लाख रुपैयाँ चोरी भएको छ ।

सुन, चाँदी र हिरामोतीमा मात्रै १ अर्ब २ करोड ६४ लाख बराबरको चोरी भएको छ । आगजनी र तोडफोडबाट पनि थप करोडौँको क्षति पुगेको छ ।

निजी प्रतिष्ठानहरूले ५६ करोड १८ लाख बराबरको नगद र सुनचाँदी गुमाएका छन् । यस्तै, घरपरिवारतर्फ ७५ करोड ३१ लाख बराबरका गहना र १२ करोड ६५ लाख नगद क्षति भएको छ ।

प्रतिवेदन अनुसार कुल क्षतिमा चोरीको हिस्सा ५७.५ प्रतिशत देखिएको छ, जसले आन्दोलनका क्रममा अराजक समूहले आर्थिक लाभ लिन खोजेको देखिन्छ । 

यस्तै आगजनीबाट ३०.९ र तोडफोडबाट ११.६ प्रतिशत क्षति भएको छ । अन्य बहुमूल्य वस्तुहरूमा भएको क्षति कुल नोक्सानीको ६३.२ प्रतिशत रहेको समितिले जनाएको छ ।


Facebook Comments