दुर्घटनाको १८ महिनापछि त्रिशूली किनारमा भेटिए गाडीका पाटपुर्जा

डेढ वर्षपछि सिमलताल दुर्घटनाको सुराक

User Image मेयरसाप डेस्क | २०८२ पुष २७ गते १२:०६
Image of https://mayorsap.com/storage/photos/shares/bus-accident.jpg

चितवन । नारायणघाट–मुग्लिन सडकको सिमलताल नजिकै त्रिशूली नदी किनारमा गाडीका पाटपुर्जा फेला परेका छन् । आइतबार बिहान सिमलतालभन्दा केही तल तनहुँतर्फको नदी किनारमा बालुवामा पुरिएको अवस्थामा ती पाटपुर्जाहरू भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार, फेला परेका सामान अघिल्लो वर्ष असार २८ मा दुर्घटनामा परेका बसको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, ती पाटपुर्जा कुन गाडीका हुन् भन्ने यकिन भइसकेको छैन ।

२०८१ असार २८ गते लेदोसहितको पहिरोले बगाउँदा एञ्जल्स र गणपति डिलक्स गरी दुईवटा बस त्रिशूलीमा बेपत्ता भएका थिए । उक्त दुर्घटनामा ६२ जना यात्रु हराएकोमा ३ जना बाँच्न सफल भएका थिए भने २४ जनाको शव भेटिएको थियो ।

३९ जना यात्रु र दुईवटै बस अहिलेसम्म फेला पर्न सकेका छैनन् । भेटिएका पाटपुर्जाको जाँचपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।


Facebook Comments