मन्त्री पौडेलद्वारा बाख्रालाई माला लगाएर कार्यक्रमको उद्घाटन

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १०:५६
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-01-19-at-102513-am.jpeg

हेटौंडा । मकवानपुरमा आइतबार बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले बाख्रालाई माला लगाएर सम्मान गरेका छन्। पाँचौँ बाख्रा दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका–३ स्थित सिमलथली एग्रो प्रालिमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बाख्रालाई सयपत्री फूलको माला लगाई कार्यक्रमको उद्घाटन गरेका हुन्।

उद्घाटनपछि मन्त्री पौडेलसहित कार्यक्रममा सहभागी जनप्रतिनिधि, कृषक तथा सरोकारवालाले खोरमा रहेका बाख्रालाई दाना खुवाएका थिए। सिमलथली एग्रो प्रालिमा हाल उन्नत जातका करिब ९ सय बाख्रा पालिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रदेश सरकारले बाख्रापालन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। बाख्रापालनमा देखिएका रोग, दाना, बजार र अनुदानसम्बन्धी समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो।

“खसी–बोकाको मासुमा अहिले हामी क्रमशः आत्मनिर्भर बन्दै गएका छौँ,” मन्त्री पौडेलले भने, “भारतबाट हुने खसीबोका आयातलाई निरुत्साहित गर्न सरकारले नीतिगत तथा व्यावहारिक कदम चालिरहेको छ।”

‘व्यावसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भरता हाम्रो अभियान’ नारासहित बाख्रा दिवस मनाइएको हो। कार्यक्रममा सहभागी बाख्रापालक कृषकहरूले चिकित्सकहरूले रातो मासु नखान सल्लाह दिने गरेकाले बजारमा उत्पादित खसीबोकाको बिक्री प्रभावित हुने गरेको गुनासो गरे। उनीहरूले वैज्ञानिक तथ्यसहित उपभोक्तामा सचेतना फैलाउन सरकारको भूमिका आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा मकवानपुर जिल्लामा हाल ४२ वटा बाख्रा फार्म सञ्चालनमा रहेको जानकारी दिइएको छ। पछिल्लो समय व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण बढ्दै गए पनि दाना महँगो हुनु, रोग नियन्त्रण, बीमा तथा बजारीकरण चुनौतीका रूपमा रहेको सरोकारवालाको भनाइ थियो।

बाख्रा दिवसका अवसरमा जिल्लाभरका कृषक, प्राविधिक तथा व्यवसायीको सहभागिता रहेको कार्यक्रममा बाख्रापालनलाई रोजगारी र आयआर्जनको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो।


Facebook Comments