स्थानीय सरकार छाडेर प्रतिनिधिसभा उम्मेदवार बन्दै जनप्रतिनिधि
संसद्मा स्थानीय जनप्रतिनिधिहरूको लर्को !
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १७:१२
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता भइरहँदा स्थानीय तहका बहालवाला जनप्रतिनिधिहरूको ठुलो संख्या पदबाट राजीनामा दिई चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।
महानगर, उपमहानगर र गाउँपालिकाका प्रमुखदेखि वडा सदस्यसम्मले सङ्घीय संसद् छिर्ने लक्ष्यका साथ मनोनयन दर्ता गराएका हुन् ।
यस क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले रास्वपाबाट झापा–५ मा उम्मेदवारी दर्ता गराएर सबैको ध्यान खिचेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोझो प्रतिस्पर्धा गर्ने भएका हुन् ।
यस्तै, भरतपुर महानगरकी प्रमुख रेनु दाहालले पनि राजीनामा दिँदै चितवन–३ बाट उम्मेदवारी दिने तयारी गरेकी छिन् । धरानका प्रमुख हर्क साम्पाङले पनि श्रम संस्कृति पार्टीबाट सुनसरी–१ मा उम्मेदवारी दिएका छन् । जहाँ उनलार्ई नेकपाका तर्फबाट राजीनामा दिएका वडाध्यक्ष मनोज भट्टराईले चुनौती दिँदैछन् ।
गाउँपालिका र वडा तहबाट पनि उम्मेदवारी दिनेको लहर चलेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, सोलुखुम्बुको थुलुङ दूधकोशीका अध्यक्ष असिम राई र ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पनि पद त्यागेर प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गरेका छन् ।
यस्तै वीरगञ्ज–१० का अध्यक्ष सुशील साह कानु र वडा नं २० का अध्यक्ष रामकिशोर सिंहले पनि पर्साबाट उम्मेदवारी दिएक छन् । स्थानीय सरकारको अनुभव सँगालेका यी जनप्रतिनिधिहरूको इन्ट्रीले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको छ ।
Facebook Comments