५ जना उम्मेदवारविरुद्ध मात्रै उजुरी, भोलि निर्णय हुने

पर्सी चुनाव चिह्न दिइने

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते १७:१०
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका कुल ३ हजार ४८६ उम्मेदवारमध्ये जम्मा ५ जना विरुद्ध मात्रै उजुरी परेको छ ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको समय सीमाभित्र देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रमा मात्रै उजुरी दर्ता भएको हो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले निर्वाचन निर्देशिका, २०८२ को प्रक्रियाअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा यी उजुरीहरू दर्ता भएको जानकारी दिए । उजुरी परेका उम्मेदवारहरूले तोकिएको समयभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

आज दिउँसो ३ बजेदेखि सुरु भएको उजुरीउपरको जाँचबुझ प्रक्रिया भोलि (माघ ८ गते) बेलुका ५ बजेसम्म चल्नेछ र त्यसपछि उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ ।

आयोगको अन्तिम तथ्याङ्कअनुसार यसपटक ३ हजार ८९ पुरुष, ३९६ महिला र १ जना तेस्रो लिङ्गी गरी कुल ३ हजार ४८६ जनाले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् । 

उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ, भने सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म चुनाव चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ ।


Facebook Comments