नेपाली महिला टोली नेदरल्यान्ड्ससँग २ रनले पराजित
विश्वकप छनोटको यात्रा कठिन
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १२:३७
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले पराजित भएको छ ।
नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।
जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक भएको अवस्थामा रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्र जोड्न सकेपछि नेपाल हार बेहोर्न बाध्य भयो ।
नेपालका लागि रुबिनाले अविजित ३७, सीताले अविजित २७ र बिन्दु रावलले १८ रन जोडे पनि जितका लागि पर्याप्त भएन । नेदरल्यान्ड्सकी इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो । उसका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ र स्टेर कालिसले ३० रन बनाइन् ।
बलिङतर्फ नेपालकी रुबिना क्षेत्रीले २ तथा रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए । लगातार दोस्रो हारसँगै नेपालको अर्को चरणको यात्रा कठिन बनेको छ, भने नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ ।
Facebook Comments