बालेनको अनुपस्थितिमा पत्नी सविना काफ्ले चुनावी मैदानमा
झापा–५ मा रास्वपाको घरदैलो तीव्र
मेयरसाप डेस्क
|
२०८२ माघ १२ गते १५:४१
दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ ।
उम्मेदवारी दर्ता गराएर वरिष्ठ नेता तथा उम्मेदवार बालेन्द्र शाह (बालेन) अन्य चुनावी कार्यक्रमका लागि फर्किए पनि दमकमा भने उनको अनुपस्थितिमा स्थानीय नेता तथा कार्यकर्ताले घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् ।
सोमबार बिहान दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो पाणिनी स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन भएको थियो ।
चुनावी अभियानलाई प्रभावकारी बनाउन बालेनकी पत्नी सविना काफ्ले पनि दमक पुगेकी छन् र उनी आफैँ घरदैलोमा सहभागी भई भोट मागिरहेकी हुन् ।
घरदैलोका क्रममा रास्वपाका नेताहरूले स्थानीय बासिन्दाका समस्या, गुनासा र सुझावहरू सङ्कलन गरिरहेका छन् भने अभियानमा विशेष गरी युवा र महिलाहरूको उल्लेख्य सहभागिता देखिएको छ ।
पार्टीको कार्यतालिका अनुसार दिउँसो ३ बजेदेखि कमल गाउँपालिका–५ को पाडाजुगी चोकबाट दोस्रो चरणको घरदैलो सुरु गरी गुहेश्वरी टोल, सशस्त्र चेकपोस्ट र अम्बिका चोक हुँदै मङ्गलबारे बजारमा पुगेर समापन गरिने जनाइएको छ ।
Facebook Comments