स्कटल्याण्डसँग पराजित भएपछि समूह चरणबाटै बाहिरियो नेपाल
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
मेयरसाप डेस्क
|
२०८२ माघ १२ गते १५:४७
काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको यात्रा समूह चरणमै सीमित भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सोमबार भएको आफ्नो अन्तिम खेलमा स्कटल्याण्डसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
समूह चरणका खेलहरूमा नेपालले मात्र एक खेलमा जित निकाल्न सक्यो भने जिम्बाब्बेसँगै चौथो र पाँचौँ स्थानमा रहँदै यात्रा टुङ्ग्यायो । नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड भने सुपर सिक्समा प्रवेश गरेका छन् ।
स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा मात्र ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ तथा रुविना क्षेत्रीले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर छुन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो । उसका लागि प्रियांज चटर्जीले २८ बलमा ४५ रनको अविजित इनिङ खेलिन् ।
नेपालका लागि मनिषा उपाध्यायले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए पनि ब्याटिङ चल्न नसक्दा नेपालले हार बेहोर्नुपर्यो । त्यस्तै, रुविना क्षेत्रीले ३ तथा रिया शर्मा, सीता रानामगर र कविता जोशीले एक–एक विकेट लिएका थिए ।
Facebook Comments