नेपालगञ्जमा बालेनका समर्थक गाडीबाट खसेर घाइते
घाइतेहरूको अवस्था सामान्य
मेयरसाप डेस्क
|
२०८२ माघ १२ गते १७:४३
नेपालगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको स्वागतका लागि बाँकेको राँझा विमानस्थल पुगेका समर्थकहरू दुर्घटनामा परेका छन् ।
बालेनलाई स्वागत गर्न पुगेको गाडीको पछाडिको ढालाबाट ४–५ जना समर्थकहरू गुडिरहेको सवारीबाट सडकमा खसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार विमानस्थल भित्रको सडकमा गाडीको गति कम भएकाले उनीहरूलाई सामान्य चोट लागेको छ र अवस्था खतरामुक्त छ ।
झापा–५ बाट उम्मेदवारी दर्ता गराएर पूर्वी पहाडको भ्रमण सकेपछि बालेन आज पश्चिम नेपालको चुनावी अभियानका लागि नेपालगञ्ज पुगेका हुन् ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका शाहलाई हेर्न र स्वागत गर्न विमानस्थलमा समर्थकहरूको ठुलो भीड लागेको थियो ।
रास्वपाले बालेनलाई आगामी फागुन २१ को निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ र उनी अहिले देश दौडाहाका क्रममा बाँके, बर्दिया हुँदै सुदूरपश्चिम जाने कार्यतालिका रहेको छ ।
Facebook Comments