जुम्लामा हिमपातले जनजीवन कष्टकर

User Image मेयरसाप डेस्क | २०८२ माघ १२ गते १७:२९
Image of https://mayorsap.com/storage/photos/shares/jimla-hiu.jpg

जुम्ला । जुम्लामा हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ । सदरमुकाम खलङ्गासहित जिल्लाको माथिल्लो भेगमा तापक्रम ऋणात्मक हुँदा धाराको पानी जम्ने र खानेपानीका पाइप फुट्ने समस्या देखिएको छ ।

नागरिक समाजका संयोजक राजबहादुर महतका अनुसार चिसोका कारण विद्यालय र क्याम्पसहरू बन्द छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ । चिसोले विशेषगरी वृद्धवृद्धा, सुत्केरी, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् ।

कठ्याङ्ग्रिँदो चिसोले दैनिकी प्रभावित बनाए पनि माघको पहिलो हप्ता परेको हिउँले किसानहरूमा भने खुसियाली छाएको छ । लामो समयको खडेरीपछि परेको हिउँले गहुँ, जौ र आलु जस्ता हिउँदे बालीलाई निकै राहत पुग्ने तिला गाउँपालिका–१ का स्थानीय लङ्क बुढाले बताए ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार अहिले स्याउका नयाँ बिरुवा लगाउने समय भएकाले हिउँ पर्दा किसानलाई सहज भएको छ । एकातिर चिसोको चुनौती छ, भने अर्कोतिर सेताम्मे डाँडाकाँडामा युवायुवतीहरू हिउँ खेल्दै फोटो र भिडियो खिच्न व्यस्त देखिन्छन् ।


Facebook Comments