पोष्टमार्टमका लागि राखिएको शव अस्पतालबाटै बेपत्ता, परिवारले थाले आन्दाेलन
मुकेशकुमार यादव
|
२०८२ माघ १२ गते १८:५१
सिरहा। सिरहाको प्रादेशिक अस्पताल लाहानबाट पोष्टमार्टमका लागि लगिएको एक किशोरीको शव रहस्यमय रूपमा बेपत्ता भएको छ। गोलबजार नगरपालिका ३ मुसर्हनिया बस्ने पुर्ण बानियाकी अन्दाजी १७ वर्षीया छोरी निशा बानियाको शव अस्पताल परिसरबाटै हराएको हो।
परिवारजनका अनुसार गत शनिबार निशा बानियाले आफ्नै घरमा झुन्डिएर मृत्यु भएको थियो। घटनापछि आइतबार उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लाहान लगिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। तर, आज शव लिन अस्पताल पुगेका आफन्तले शव फेला नपरेपछि घटना सार्वजनिक भएको हो।
शव हराएको विषयमा बुझ्न इलाका प्रहरी कार्यालय लाहानसँग सम्पर्क गर्न खोज्दा फोन सम्पर्कमा आउन चाहेनन् । त्यस्तै, अस्पताल प्रशासनसँग सम्पर्क गर्दा पनि कुनै आधिकारिक प्रतिक्रिया दिन अस्विकार गरिएकाे छ।
यस घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवारजन तथा स्थानीयले गोलबजार क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। उनीहरूले शवको अवस्था सार्वजनिक गर्न, दोषीमाथि छानबिन गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।
शवजस्तो संवेदनशील विषयमा अस्पताल र सुरक्षा निकाय दुवैको मौनताले घटना झनै रहस्यमय बन्दै गएको छ। स्वास्थ्य संस्था र सुरक्षा व्यवस्थाको लापरबाहीले यस्ता घटना घटेको स्थानीयहरुको भनाइ छ।
Facebook Comments