सात दशकपछि पनि अधुरो कान्ति लोकपथ, २०८३/८४ सम्म सम्पन्न गर्ने लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ माघ १३ गते १९:५९
हेटौँडा — संघीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने छोटो वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथ सात दशक बितिसक्दा पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । २०१३ सालमा निर्माण सुरु भएको यो सडक आयोजनाको हालसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
कुल ७९ किलोमिटर लम्बाइको कान्ति लोकपथ काठमाडौँ–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पका रूपमा अघि बढाइएको हो । आयोजना सुरु भएको समयमा जन्मेका पुस्ता वृद्ध अवस्थामा पुग्दा पनि सडक निर्माण नसकिँदा यसले मुलुकको पूर्वाधार विकासको सुस्त गतिलाई देखाएको छ ।
कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेका अनुसार बजेट अभाव, भौगोलिक जटिलता तथा प्राकृतिक कारणले आयोजना ढिलाइ भएको हो । उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
हाल सडकको चार किलोमिटर खण्ड कालोपत्र हुन बाँकी छ । ती क्षेत्रमा एक लेन मात्र रहेको र चट्टान काटेर दुई लेनमा विस्तार गर्नुपर्ने भएकाले समय लाग्ने आयोजनाले जनाएको छ । सडक सीमा निर्धारण नहुँदा घरटहरा, रुखबिरुवा, विद्युत् खम्बा, खानेपानी तथा ढलका संरचना सडक क्षेत्रमा परेका छन् भने ढुङ्गा–बालुवा उत्खननसम्बन्धी समस्या पनि देखिएको छ ।
यसैबीच आयोजनाअन्तर्गत बागमती नदीमा दुई लेनको पुल निर्माण भइरहेको छ । ९० मिटर लामो उक्त पुल १८ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ । हाल पुलको पाइलिङ तथा जग हाल्ने काम भइरहेको छ तर चालु आव २०८२/८३ को असार मसान्तभित्र निर्माण सम्पन्न हुन नसक्ने आयोजनाले जनाएको छ ।
कान्ति लोकपथको शून्य किलोमिटर काठमाडौँतर्फ ललितपुरको टीकाभैरव र हेटौँडातर्फ बुद्धचोक हो । यस सडकमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर पर्छ । चालु आवदेखि टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरिएको छ ।
चालु आर्थिक वर्षमा आयोजनाका लागि ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हालसम्म करिब चार अर्ब रुपैयाँ खर्च भइसकेको छ । सुरुमा छ अर्ब रुपैयाँ अनुमानित लागत रहेकामा हाल संशोधन गरी आठ अर्ब ८३ करोड रुपैयाँ पुर्याइएको छ ।
कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा आएमा तराईबाट काठमाडौँ प्रवेश गर्ने दुरी १३२ किलोमिटर छोटिने छ । हाल प्रयोग हुँदै आएको हेटौँडा–नारायणगढ–मुग्लिङ–नागढुङ्गा (२२२ किमी) को विकल्पका रूपमा ७९ किलोमिटरमै हेटौँडाबाट काठमाडौँ पुग्न सकिने भएकाले समय, इन्धन र यात्राको जोखिम घट्ने विश्वास गरिएको छ ।
Facebook Comments