७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

विभागीय बैठकमार्फत सम्पन्न कामको जानकारी र आगामी कामको सहजीकरण गर्ने क्रम जारी

User Image मेयरसाप डेस्क | २०८२ माघ १३ गते २०:११
Image of https://mayorsap.com/storage/photos/shares/kathmandu-metro-news.jpeg

काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको हाजिरी ७ दिनभित्र पूर्ण रुपमा डिजिटल बनाउन काठमाडौँ महानजगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी छिन् ।

चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यासका विषयमा जानकारी लिँदै विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रुपमा गर्नु पर्ने सहजीकरणका विषयमा जानकारी लिने क्रममा आज डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिएकी हुन् । 

‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउनु पर्छ’, शैक्षिक सुधारका विषयमा डंगोलले भनिन्, ‘हामी एसईईको नजिक आउन लागेका छौँ । गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ । तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु । तथ्यले नतिजामा सुधार देखिनुपर्छ । यसमा छुट सुविधा कसैलाई हुँदैन ।’

छलफलका क्रममा भृकुटीमण्डपमा रहेको पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त भएको नतिजा, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षणको प्रतिवेदन, शिक्षामा सिपलगायत कार्यक्रमको गुणस्तर र यसको सुधारका पक्षमा छलफल भएको थियो । 

यस्तै दर्ता भएका तर, सञ्चालनमा नरहेका विद्यालयहरुको खारेजी प्रक्रिया, सामाजिक विकास विभाग अन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकासका कक्षाहरुको व्यवस्थापन, विद्यालय स्तरका खेल र अतिरिक्त क्रियाकलाप लगायत विषय समेटिएका थिए ।  

छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालसहित अधिकारीहरु सहभागी थिए।


Facebook Comments