यमुनामाईमा किर्ते पत्रमार्फत निमित्त बनाउने चलखेल, हाकिम र अध्यक्षबीच टकराब

लेटरप्याड र चलानी नम्बर दुरुपयोगको आरोप

User Image प्रेमचन्द्र झा | २०८२ माघ १५ गते १३:३६
Image of https://mayorsap.com/storage/photos/shares/yamunath-gaupalika.png

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष महमद साउद र प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालबीच निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । केही दिनअघि मात्र २–३ हप्ताभित्रै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाउने उद्देश्यले स्वास्थ्यतर्फका दुई फरक–फरक जुनियर कर्मचारीलाई सरुवा सहमति दिएको भन्दै तयार गरिएका पत्रहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

ती पत्रहरू किर्ते र नक्कली भएको आशङ्का सार्वजनिक भएसँगै मिलेमतोमा संलग्न भनिएका कविराज राम श्रेष्ठ राय यादव र गाउँपालिका अध्यक्ष सउद हच्किएका छन् । सरुवा सहमति पत्रबारे प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले ती पत्रहरू पूर्ण रूपमा किर्ते र नक्कली रहेको बताए । पालका अनुसार ती पत्रहरूमा प्रयोग गरिएका चलानी नम्बरहरू दोहोरिएको पाइएको छ र सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पालका अनुसार अध्यक्ष सउदले वडा नम्बर १ का वडाध्यक्ष नन्दलाल राय यादव र राम श्रेष्ठ राय यादवसँग मिलेमतोमा गाउँपालिकाको लेटरप्याड दुरुपयोग गरी नक्कली चलानी नम्बर राखी विभिन्न किर्ते पत्रहरू तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंमा पत्राचार गरेका छन् ।

गाउँपालिकाको चलानी नम्बर ४२० मिति २०८२–०८–१६ मा राय प्रतिक्रियासहितका कागजात तुरुन्त पठाउने विषयमा चलानी रजिष्टरमा अभिलेख देखिए पनि सोही चलानी नम्बर र मिति २०८२–०८–१९ राखी फरक आशयको अर्को पत्र मन्त्रालयमा पठाइएको कुरा सामाजिक सञ्जालमा भाइरल भएको पालले बताएका छन् ।
त्यसैगरी अध्यक्ष सउदले मिति २०८२–०९–०५ मा कार्यालय बाहिर बोलाइएको भनिएको कार्यपालिका बैठकबारे आफूलाई कुनै जानकारी नरहेको कुरा पनि प्रमुख प्रशासकीय अधिकृत पालले बताए । यसअघि पनि पटक–पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका वरिष्ठ कविराज निरीक्षक अधिकृत राम श्रेष्ठ राय यादवलाई पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन अनुरोध गरिएको निर्णय देखाइएको छ ।

सो निर्णयका आधारमा प.सं. ०८२–०८३ च.नं. ४५९ मिति २०८२–०९–०९ मा आर्थिक प्रशासन शाखाका लागि स्रेस्ता उपलब्ध गराउने विषयमा अघि नै चलानी भइसकेको चलानी किताबमा देखिन्छ । तर उही मिति र उही चलानी नम्बर प्रयोग गरी अध्यक्ष सउदले राम श्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन अनुरोध गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अर्को किर्ते पत्र तयार गरी पत्राचार गरिएको देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पालका अनुसार, गाउँपालिका अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित जनप्रतिनिधिबाट यस प्रकारका गतिविधि हुनु अत्यन्तै दुःखद र आपत्तिजनक विषय हो । यस प्रकरणमा हालसम्म सम्बन्धित निकायबाट औपचारिक अनुसन्धान प्रक्रिया अघि बढ्न बाँकी रहेको बताइएको छ ।

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष सउदसँग किर्ते सिफारिस र बैठकबारे कुरा गर्दा उनले यसमा कुनै सत्यता नरहेको बताए । साथै उनले प्रमुख प्रशासकीय अधिकृत पाललाई सामुन्ने आएर कुरा गर्न चुनौती समेत दिएका छन् ।


Facebook Comments