गर्लफेण्डले अरूसँग विहे गर्ने भएपछि युवकले सार्वजनिक गरे अश्लील तस्बिर
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते १२:३७
कञ्चनपुर । सामाजिक सञ्जालमार्फत एक युवतीको अश्लील तस्बिर फैलाएर चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका २२ वर्षीय हरिशप्रसाद भट्टविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अभियोग पत्र दायर गरेको हो ।
अभियोग पत्रअनुसार फेसबुकबाट चिनजान भई प्रेम सम्बन्धमा रहेका बेला भट्टले विवाह गर्ने प्रलोभन देखाई युवतीका अश्लील तस्बिर खिचेका थिए ।
पछि युवतीको विवाह अर्कै ठाउँमा तय भएपछि प्रतिशोध लिन भट्टले नक्कली फेसबुक आईडी बनाएर ती तस्बिरहरू आफन्तलाई पठाएको र सामाजिक सञ्जालमा सार्वजनिक गरेको अनुसन्धानबाट खुलेको छ ।
उनले युवतीलाई ‘विवाह गरे बर्बाद गरिदिने’ धम्की समेत दिएको जाहेरीमा उल्लेख छ । सरकारी वकिल कार्यालयले भट्टलाई ५ वर्षसम्म कैद, १ लाख रुपैयाँ जरिवाना र पीडितलाई उचित क्षतिपूर्ति भराउन माग गरेको छ ।
हाल फरार रहेका भट्टलाई अदालतमा उपस्थित गराउन म्याद जारी गरिएको छ ।
Facebook Comments