महोत्तरीका मतदाताको गुनासो– बर्खामा बाढी, हिउँदमा पानीको हाहाकार
चुनावी अभियानमा उम्मेदवारलाई सास्ती
मेयरसाप डेस्क
|
२०८२ माघ १८ गते १२:२७
महोत्तरी । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा चुनावी चहलपहल तीव्र बनेको छ । राजनीतिक दलका नेता र उम्मेदवारहरू भोट माग्न घरदैलोमा पुगिरहेका बेला मतदाताहरूले भने उत्साहभन्दा बढी असन्तुष्टि र गुनासाहरू पोख्न थालेका छन् ।
यस क्षेत्रका भङ्गाहा, बलवा, लोहारपट्टी, औरही र पिपरा लगायतका क्षेत्रमा मुख्य समस्या रातु, बिग्ही र मरहा जस्ता नदीहरूको बाढी रहेको छ । भङ्गाहा–६ का ५५ वर्षीय सुरेश सर्दार भन्छन्, ‘बर्खामा बाढीले बस्ती र खेत बगाउने डर हुन्छ, तर अहिलेसम्म पक्की तटबन्ध बनेको छैन ।’
यहाँका बासिन्दा हिउँदमा सिँचाइ र पिउने पानीको अभाव तथा बर्खामा कटान र डुबानको नियति भोग्न बाध्य छन् । लोहारपट्टीका रामसागर यादवका अनुसार, सिँचाइ सुविधा, समयमा मलखाद र बीउबिजनको उपलब्धता नै यहाँका किसानको मुख्य माग हो ।
यस क्षेत्रमा १५ राजनीतिक दल र २२ स्वतन्त्र गरी कुल ३७ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपाका संयुक्त उम्मेदवार इदरिस मोमिनका अनुसार, योजनाबद्ध काम हुन नसक्दा जनतामा आक्रोश बढेको हो ।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सुरक्षा व्यवस्था सुदृढ पारिएको जानकारी दिए ।
Facebook Comments