ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिँदै काठमाडौं महानगर
भोलिदेखि सर्वेक्षण सुरु
मेयरसाप डेस्क
|
२०८२ माघ १८ गते १२:४०
काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ भोलिदेखि स्वास्थ्य सर्वेक्षण सुरु गर्दैछ ।
शारीरिक रूपमा अशक्त, दीर्घ रोगी र आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर यो कार्यक्रम ल्याइएको हो ।
सर्वेक्षणका लागि खटिने नर्सिङ कर्मचारीहरूलाई आवश्यक औषधि, डिजिटल स्वास्थ्य उपकरण (बीपी मनिटर, ग्लुकोमिटर, अक्सिमिटर आदि) र तथ्याङ्क सङ्कलनका लागि ट्याब्लेट उपलब्ध गराइएको छ । ५ दिने विशेष तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले घरमै पुगेर स्वास्थ्य जाँच, औषधि वितरण र पोषण परामर्श दिनेछन् ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिँदै यसलाई पदीय जिम्मेवारी मात्र नभई मानवीय सेवाका रूपमा लिन आग्रह गरिन् ।
‘सन्तान विदेशमा रहेका ज्येष्ठ नागरिकका लागि हामी ’टेलि मेडिसिन’ प्रणाली पनि बनाउँदैछौँ, जसले गर्दा उहाँहरूको स्वास्थ्य अवस्थाबारे विदेशमा रहेका परिवारलाई जानकारी गराउन सहज हुनेछ,’ उनले भनिन् ।
यस कार्यक्रमले ज्येष्ठ नागरिकको मानसिक र सामाजिक अवस्था बलियो बनाउने, दीर्घ रोग नियन्त्रण गर्ने र आकस्मिक अवस्थामा तत्काल अस्पताल प्रेषण (रिफरल) गर्ने प्रणाली विकास गर्ने लक्ष्य राखेको छ ।
Facebook Comments