रौतहटमा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी इमेलबाटै दिन सकिने
मेयरसाप डेस्क
|
२०८२ माघ १८ गते १३:००
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी रौतहटमा निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी संकलनका लागि इमेल सेवा सञ्चालनमा ल्याइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन जिल्लास्थित निर्वाचन कार्यालयहरूले प्रविधिको प्रयोग गर्दै इमेलमार्फत उजुरी लिने व्यवस्था गरेका हुन् ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा हुने आचारसंहिता विपरीतका गतिविधिबारे नागरिकले सिधै सम्बन्धित कार्यालयमा प्रमाणसहित उजुरी गर्न सक्नेछन् । यसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय (क्षेत्र नं. १) र अन्य निर्वाचन अधिकृतका कार्यालयहरू (क्षेत्र नं. २, ३ र ४) ले छुट्टाछुट्टै इमेल ठेगाना व्यवस्था गरेका छन् ।
साथै, आचारसंहिता अनुगमनको जिम्मेवारी पाएका सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन कार्यालयले पनि इमेलमार्फत प्राप्त हुने उजुरीमाथि तत्काल अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने जनाएका छन् ।
निर्वाचन कार्यालयका अनुसार, उजुरीकर्ताको गोपनीयता कायम राख्दै प्राप्त सूचनाका आधारमा स्थलगत अनुगमन गरी दोषीमाथि निर्वाचन ऐनअनुसार कारबाही गरिनेछ ।
Facebook Comments