निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई किन सोध्यो स्पष्टीकरण ?

दुई दिनभित्र जवाफसहित आयोगमा कागजात पेश गर्न निर्देशन

No Author Assigned | २०८२ माघ २१ गते १५:११
Image of https://mayorsap.com/storage/photos/shares/nirwachan-aayog_1.jpg

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ ।

आयोगले सोमबार निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा महानगरलाई स्पष्टीकरण सोधेको हो । 

यस सन्दर्भमा कार्यबाहक नगरप्रमुख सुनिता डंगोलले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन ? भनेर आयोगले महानगरपालिकालाई जवाफसहित कागजात पेश गर्न भनेको छ ।

आयोगले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको भए सो कागजातको प्रमाणित प्रति यो पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ ।’ 

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने तर सरुवा रोगको महामारी वा कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।


Facebook Comments