बाजुराको कोल्टी अस्पतालमा प्रभावकारी बन्दै 'सिजेरियन' शल्यक्रिया
गोविन्द तिमिल्सेना
|
२०८२ माघ २१ गते ०९:४१
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका– १ मा रहेको कोल्टी आधारभूत अस्पतालमा अहिले नियमित सिजेरियन शल्यक्रिया हुँदै आएको छ। दुर्गमका नागरिकलाई सहज रुपमा सेवा दिँदै आएको कोल्टी अस्पतालमा अहिले नियमित सिजेरियन सेक्शन (सीएस) शल्यक्रिया सफलतापूर्वक हुने हुँदा यहाँका महिलाहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता हटेको छ ।
पहिले सामान्य उपचार समेत नहुने कोल्टी अस्पतालमा अहिले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह हुँदै आएका छन्। कोल्टी अस्पताल दुर्गम क्षेत्रका नागरिकको सेवामा निरन्तर कटिबद्ध रहेको अस्पतालका सूचना अधिकारी प्रेम नेपालीले बताए ।
उनका अनुसार अस्पताललमा अहिले नियमित सिजेरियन शल्यक्रिया लगायत विभिन्न सेवा, सुविधा सहज र प्रभावकारी ढंगले प्रवाह भइरहेको छ । ‘कोल्टी अस्पताल दुर्गमका नागरिकको भगवान बनेको छ। जटिल समस्याहरू समाधान हुँदै आएका छन्,’उनले भने,‘ नियमित हुने सिजेरियन शल्यक्रियाकाले दुर्गम क्षेत्रका आमाहरुको ज्यान सुरक्षित हुने गरेको छ।’
मंगलबार मात्रै पुन एक जटील अवस्थाकी गर्भवती महिलाको सहज रुपमा सिजेरियन शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । समयमै गरिएको अप्रेसनका कारण सम्भावित जटिलता टरेको र आमा–शिशुको ज्यान सुरक्षित भएको अस्पतालका प्रमुख डाक्टर रञ्जित कुमार शाहले बताए । उनले दुर्गम भौगोलिक अवस्था, सीमित स्रोत–साधन तथा चुनौतीपूर्ण कार्यका बाबजुद पनि नियमित सफल शल्यक्रिया हुनु गौरवको कुरा रहेको बताए ।
अस्पतालमा बाजुरासहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटसम्मका सेवाग्राही आउने गरेको छ। कोल्टी अस्पतालमा अहिले आँखा र दाँतको उपचार, ब्लड क्रस म्याच, एक्स–रे, भिडियो एक्स–रे, ल्याब सेवा, स्मार्ट हेल्थमार्फत टेलिहेल्थ सेवा र एआरटी सेवा उपलब्ध रहेको छ । यद्यपि अस्पतालमा अझै पनि भौतिक संरचना र दरबन्दी अभाव भने यथावत् रहेको अस्पतालले जनाएको छ ।
Facebook Comments