Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचनको मुखैमा विदेशिने युवाको लर्को, भन्छन्–बालेन प्रधानमन्त्री भएपनि हाम्रो दुःख उस्तै हो (भिडियोसहित)

User Image अम्बिका खड्का | २०८२ माघ २८ गते १७:०६
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-02-11-at-44040-pm.jpeg
तस्बिर: राहुलकुमार ढकाल

देश यतिबेला निर्वाचनमय बनेको छ । नेताहरु गाउँ छिरेका छन् । जनताका घर–घर पसेका छन् । हात जोड्दै, मुस्कान बाँड्दै, देश बनाउँछौं भन्दै । शहरदेखि गाउँसम्म, सडकका पेटीदेखि चोक–चोकमा पार्टीका झण्डा फहराएका छन् । लाउड स्पीकरमा पार्टी  र व्यक्ति विषेश गीत घन्किएका छन् । नारा गुञ्जिएका छन् । नेता, जनता रिझाउन व्यस्त छन् । सरकार चुनावको तयारीमा छ । सडकमा सेना निस्किसकेको छ । जताततै चर्चा चुनावकै छ ।

अब यही देशमा अर्को एउटा दृश्य हेर्नुस् । झोलाभरी सपना, गहभरी आँसु, हातमा बोर्डिङ पास लिएर एयरपोर्टमा लाइन लागेका युवा । यो लाइन–रोजगारीकै लागि देश छोड्नेहरुको लाइन हो। यो लाइनलाई न अहिलेको देशको चुनावी माहोलले छोएको छ, न त रोजगारी दिलाउने नेताका मीठा आश्वासनले रोक्न सकेको छ ।

ठूला नेताका आमसभा जस्तै लाग्ने यो भीड हेर्नुस्, यो भीड कलिला सन्तानलाई विदेश उडाउन आउने बा–आमाको भीड हो, बुढेसकालको साहारा नफर्किने हुन कि भन्ने डरसहित छोरो उडाएर एक्लै घर फर्किनेहरुको भीड हो, सयौं सपना देखेर विवाह गरेकै केही दिनमा श्रीमानलाई विदेश उडाउन आउने नवदुलहीको भीड हो, यो भीड दुधे बालक च्यापेर भक्कानिँदै बच्चाको बुबालाई बिदाइ गर्ने बच्चाकी आमाको भीड हो ।

नेपालीमा एउटा उखान छ–‘जुन जोगी आएपनि कानै चिरिएको’ । चुनावको मुखैमा विदेशीने युवाहरुलाई यस्तै लाग्छ । निर्वाचनपछि बन्ने नयाँ सरकारले देशमा परिवर्तन ल्याउला, रोजगारी सिर्जना गर्ला भन्नेमा उनीहरुलाई मरिकाट्टे विश्वास छैन ।

विश्वास होस् पनि कसरी ? वर्षौँदेखि हरेक निर्वाचनमा नेताहरुले आशा बाँडिरहे । रोजगारीको ललिपप फालि रहे ।

हरेक चुनावपछि सत्ता फेरियो, कुर्सी फेरियो, श्रीमान चड्ने गाडी फेरियो, श्रीमतीका साडी फेरियो तर नागरिकको दुख फेरिएन, रोजगारीका लागि विदेशीने युवाको नियती फेरिएन, मलामीका लागि काँध थाप्ने लाठेको पर्खाइमा रहेको गाउँको भाग्य फेरिएन ।

विमानस्थलमा एक्लै सेल्फि खिचिरहेका यी युवा झापाका भरत बोहोरा हुन् । झापा, चार पटक प्रधानमन्त्री बनिसकेका केपी शर्मा ओलीको जिल्ला । अझ भनौं आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्न भन्दै केपी ओलीसँग निर्वाचन लड्न रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले ताकेको जिल्ला । अहिले आम देशबासीको चासोमा रहेको जिल्ला । यही चर्चित जिल्ला झापाका २८ वर्षीय बोहोरा आजभन्दा १० वर्षअघि १८ वर्षको उमेरमा रोजगारीका लागि मलेसिया हिँडेका थिए । केही दिनको बिदामा आएका बोहोरा आजपनि मलेसियाकै उडान भर्दैछन् । २५–३० हजारको रोजगारी देशमै पाएको भए उनी विदेश जाने थिएनन् ।

गहभरि आँसु लिएर विमानस्थलमा छटपटाइरहेकी इलामकी यी युवतीको उमेर भर्खर २० पुग्यो । पढ्न भनेर व्याचलर भर्ना भएपनि परिवारको आर्थिक अवस्थाका कारण उनले पढाइ पूरा गर्ने धैर्यता राख्न सकिनन् । पासपोर्ट बनाइन्, भिसा लगाइन्, आज उनको कतारको उडान छ । रोजगारीका लागि खाडि मुलुक जाँदै गरेकी कलिलि छोरीलाई बिदाइ गर्न आमा आएकी छन् । गहभरि आँसु बनाएका आमा–छोरी सम्हालिन सक्दैनन् । पटक–पटक अंकमाल गर्दै रुँदै छन् । पढ्दै गरेकी छोरीलाई खाडि उडाउन आएका अभिभावकलाई पनि यो देशको निर्वाचनसँग कुनै सरोकार छैन । न पूरानासँग थियो आश, न नयाँ सँग छ भरोसा ।

चितवनका अनिश खड्का, पनि हतारो गर्दै मलेसियाको उडान भर्ने तरखरमा छन् । २५–२६ वर्षका खड्का २० वर्षको उमेरमा पहिलो पटक विदेशीएका थिए । देशमा रोजगारीको अवसरै नभएपछि देशको मायाले खान नपुग्दो रहेछ । आम्दानी नभएपछि परिवारसँगै बस्ने रहले खुसी नमिल्दो रहेछ । २५–३० हजारको जागिर समेत नपाउँदा विदेशीन बाध्य हुनु परेको पीडा पोख्ने खड्कालाई नेताका आश्वासनले छोएन । निर्वाचनले रोकेन् । बालेन प्रधानमन्त्री भए देशमा परिवर्तन आउँछ की भन्ने थोरै आश भएपनि उनलाई भर भने पटक्कै छैन ।

२४ वर्षीय श्यामकुमार विकको घर काठमाडौंकै थानकोट हो । परिवारको आर्थिक अवस्थाकै कारण उनले १२ कक्षाभन्दा बढी पढ्न सकेनन् । अहिले उनी रोजगारीका लागि विदेशीदै छन् । विदेश जाने पटक्कै मन नभएका श्यामकुमार १५–२० हजारकै जागिर भएपनि विदेश जाने थिएनन् । परिवारसँग बस्ने रहर मारे, साथीभाइसँगको रमाइलो त्यागे, जवानी खाडिमा बेच्ने सम्झौता गरे र परदेश हिँडे श्यामकुमार ।.

आज चुनावी सभामा ताली बज्ने हातहरू विमानस्थलमा आँसु पुछिरहेका छन् । एयरपोर्टको त्यो भीड केवल व्यक्तिगत पीडाको कथा होइन, राज्य असफलताको सामूहिक प्रमाण हो। जनताले हरेक पटक, हरेक पार्टीलाई अवसर दिए। तर जतलाई सबैले आश्वासन बाहेक केही दिएनन् । अरु त अरु पूराना पार्टीको प्रवृत्तिमाथि आलोचना गर्दै, जान्नेलाई छान्ने भन्दै उदाएको रास्वपाले समेत विदेश पलायन हुने युवालाई रोक्न सकेन । रोक्न सकेन होइन, रोक्ने प्रयासै गरेन ।

दैनिक हजारौंको संख्यामा युवा विदेशी रहेका छन् । नेताका भाषण र घोषणापत्रबाट उनीहरु आजित भैसकेका छन् । उनीहरुलाई लाग्छ–मत हालेर सत्ता बदलिन सक्छ, तर नागरिकको नियति बदलिनेवाला छैन ।

७६ जनाको मृत्यु, सयौं घाइते, अर्बौंको भौतिक क्षति भएको जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा ३१ अर्ब बढी खर्च हुने अनुमान छ । अब पनि नेताहरुले घोषणापत्रमा लेखिएका शब्द विमानस्थलको प्रतिक्षालयसम्म नपुग्ने हो भने विदेशीले युवाको लर्को रोकिने छैन ।

यो देशमा युवा मात्र होइन् मौका मिले, केटाकेटी, वृद्धवृद्धा कोही बस्न चाहेका छैनन् । राजनीतिको रोटी सेकेर जनतालाई भ¥याङ बनाउने राजनीतिक ठेकेदार नेता ज्यू हरु आज भोट माग्दै हुनुहुन्छ ? निर्वाचित भएपछि तालि बजाउने हात पनि चाहिएला नि, देशका नागरिक समुन्द्र पारि पुग्नबाट रोक्ने चेष्टा गर्नुहोस् । विजय र्यालीमा फुलमाला लगाउने हात कार्यकर्ताको मात्र नहोस् ।


Facebook Comments