ज्वालामुखीमा निःशुल्क स्वास्थ्य शिविर, औषधि पनि नि:शुल्क वितरण

User Image मेयरसाप डेस्क | २०८२ चैत १३ गते २०:१३
Image of https://mayorsap.com/storage/photos/shares/jwalamukhi-gaupalika-sibhir.jpg

धादिङ । ज्वालामुखी गाउँपालिकाको आयोजनामा शनिबार एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। चैत्र १४ गते वडा नं. ५ स्थित खरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको गाउँपािलका अध्यक्ष यमनाथ दनैले जानकारी दिएका छन् ।

शिविर ज्वालामुखी गाउँपालिकाको आयोजना तथा राेट्री क्लब अफ मिड टाउन चितवन, चितवन मेडिकल कलेज र राेट्री क्लव अफ धादिङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।

स्वास्थ्य शिविरमा जेनरल सर्जरी, जेनरल फिजिसियन, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक-कान-घाँटी, छाला रोग तथा मानसिक रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूको परीक्षण गरेका थिए। परीक्षणमा लगभग पाँचसय नागरिक लाभान्वत भएकाे पालिका अध्यक्ष दनैले जानकारी दिए । परीक्षण पश्चात आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको आयोजकले जनाएको छ। लगभग दश लाख बराबरकाे औषधि निःशुल्क वितरण गरिएकाे पालिकाले जानकारी दिएकाे छ ।

गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाएको छ। साथै, यस्तो कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक उपचारमै रोग पहिचान गर्न सहयोग पुगेको विश्वास गरिएको छ। शिविरबाट गम्भीर राेग लागेका बिरामीलाई पालिकाले आफ्नै खर्चमा नि:शुल्क उपचार गराउने पालिका अध्यक्ष दनैले जानकारी दिएका छन् । शिविरमा आएका बिरामीलाई थप उपचार गर्नु परे चितवन मेडिकल कलेजले २० प्रतिशत छुट दिने सहमित भएकाे पालिका अध्यक्ष दनैले बताएका छन् ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू, स्वास्थ्यकर्मीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ।


Facebook Comments