मेयरसापका संवाददाता खड्कामाथि एमाले कार्यकर्ताले गरे हातपात

User Image मेयरसाप डेस्क | २०८२ चैत १४ गते १९:२४
Image of https://mayorsap.com/storage/photos/shares/sa.jpg

हेटौँडा । समाचार संकलनका क्रममा रहेका मेयरसाप डटकमका हेटौँडा संवाददाता दीक्षान्स खड्कामाथि नेकपा एमालेका कार्यकर्ताहरूले हातपात र दुर्व्यवहार गरेका छन् । आइतबार दिउँसो करिब ३ बजे हेटौँडामा आयोजित विरोध प्रदर्शनका क्रममा खड्कामाथि आक्रमण भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमाले मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो । सोही क्रममा प्रशासन कार्यालय परिसरमा एक अपरिचित महिलाले प्रदर्शनकारी एमाले कार्यकर्ताहरूमाथि गालीगलौज गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

संवाददाता खड्काका अनुसार, गालीगलौजमा उत्रिएकी ती महिलामाथि आक्रोशित एमाले कार्यकर्ताहरूले कुटपिट सुरु गरेका थिए । सोही कुटपिटको दृश्य आफ्नो क्यामेरामा कैद गरिरहेका खड्कामाथि एमाले कार्यकर्ताहरू जाइलागेका हुन् । समाचारको ’फुटेज खिचेको झोँकमा कार्यकर्ताहरूले खड्कालाई हातपात गर्नुका साथै दुर्व्यवहार गरेका थिए ।

पत्रकार खड्काका अनुसार, उनीसँगै रहेका अन्य केही सञ्चारकर्मीहरूमाथि पनि प्रदर्शनकारीले हातपात र गालीगलौज गरेका छन् । ‘हामी आफ्नो व्यावसायिक धर्म निभाउँदै घटनाको दृश्य खिचिरहेका थियौँ, तर प्रदर्शनकारीहरूले एक्कासि आक्रमण गरे,’ खड्काले जानकारी दिए ।

घटनापछि पत्रकार खड्काले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । समाचार संकलनमा बाधा पुर्‍याउने र सञ्चारकर्मीमाथि हातपात गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन जाहेरी दिइएको खड्काले बताए ।


Facebook Comments