प्रहरीको भिडियोले खैलाबैला, यसरी ‘ट्र्याप’मा परे ५ जना ठग !

प्रहरीको अनुसन्धान सुरू

User Image मेयरसाप डेस्क | २०८२ चैत २७ गते १९:०१
Image of https://mayorsap.com/storage/photos/shares/sa_1.jpg

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विदेशी रकम ठगी गर्ने समूहबारे सर्वसाधारणलाई जानकारी दिन सार्वजनिक गरेको सचेतनामूलक भिडियोका आधारमा पाँच जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ ।

उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र कमेन्टहरू अध्ययन गर्दा पाँच जनाको फोटो प्रहरीको ध्यानाकर्षणमा आएको हो ।

भिडियोमा आएका कमेन्टहरूमा केही पीडितहरूले ती व्यक्तिहरूलाई विदेशी रकम ठगीमा संलग्न समूहका सदस्य भएको दाबी गरेका छन् । सोही दाबीका आधारमा ती व्यक्तिहरूको पहिचान तथा गतिविधिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी पुष्कर बोगटीका अनुसार, यस घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको र संलग्न व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाएको छ ।

प्रहरीले ती उल्लेखित व्यक्तिहरूलाई कतै देखेमा वा ठगी गरिरहेको अवस्थामा फेला पारेमा नजिकको जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

पछिल्लो समय विदेशी रकम ठगीका घटनाहरू बढ्दै गएकाले अपरिचित व्यक्तिहरूसँग आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउन र यस्ता ठगी गिरोहप्रति सचेत रहन समेत प्रहरीले सबैमा आग्रह गरेको छ ।


Facebook Comments