Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कांग्रेस–एमालेसँगको समीकरणमा ब्रेकः आफ्नै खुट्टामा चुनाव लड्ने प्रचण्डको उद्घोष

User Image मेयरसाप डेस्क | २०८२ माघ २८ गते १८:१७
Image of https://mayorsap.com/storage/photos/shares/prachanda_6.jpg

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेपाली कांग्रेस र एमालेसँग कुनै पनि चुनावी तालमेल नगर्ने स्पष्ट पारेका छन्। म्याग्दीमा आयोजित पार्टीको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसपटक ७७ वटै जिल्लामा पार्टी आफ्नै खुट्टामा उभिएर एक्लै चुनाव लड्ने बताए।

उनले कांग्रेस र एमालेसँग समीकरण नगर्ने पार्टीको निर्णयले देशैभरका नेता कार्यकर्ता उत्साहित भएको दाबी गरेका छन् । ‘नेतृत्वले फेरि खुट्टा छोड्छ कि भनेर सामाजिक सञ्जालका हल्लाबाट नझस्कनुस्’,    उनले भने, ‘हामी दृढताका साथ भन्छौँ- यो पटक कसैसँग समीकरण हुँदैन।’

उनले प्रमुख दलहरूभित्रको आन्तरिक विवादतर्फ संकेत गर्दै कांग्रेसभित्र शेरबहादुर देउवा र गगन थापाका दुई धार छन् भने एमालेभित्र पनि महाधिवेशनपछिको असर जिल्ला जिल्लामा देखिएको बताएका छन् । यस्तो अवस्थामा राष्ट्र, जनता, सुशासन र भ्रष्टाचार विरुद्ध उभिने शक्तिहरूसँग सहकार्य र संवाद जारी राखे पनि चुनावी समीकरण भने नगर्ने उनको अडान छ।

आफूले देउवा वा ओलीसँग भेट्दैमा तरंगित नहुन आग्रह गर्दै प्रचण्डले राष्ट्रलाई दुर्घटनाबाट जोगाउने जिम्मेवारी आफ्नै पार्टीको काँधमा रहेको बताए। हिजोका कमीकमजोरी सच्याउँदै चुनावी मेहनत गरेर फेरि पनि देशको १ नम्बर पार्टी बन्ने लक्ष्य रहेको उनले दाबी गरे।


Facebook Comments