Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नेपाल भर्सेस इटली: लज्जास्पद हारकाे भाग नेपाललाई, मोस्का दाजुभाइले दिलाए इटलीलाई जित !

User Image मेयरसाप डेस्क | २०८२ माघ २९ गते १८:४५
Image of https://mayorsap.com/storage/photos/shares/nepal-vs-italy.png

मुम्बई — आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा १२४ रनको सामान्य लक्ष्य पछ्याएको इटलीले १२.४ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्दै ऐतिहासिक जित दर्ता गर्‍यो।

टी–२० विश्वकप इतिहासमा नेपाल पहिलो पटक १० विकेटले पराजित भएको हो। यससँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल यसअघि पहिलो खेलमा दुई पटकको विश्वविजेता इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। इटलीका लागि भने यो विश्वकपको पहिलो जित हो। प्रतियोगितामा डेब्यु गरेको इटलीले आफ्नो दोस्रो खेलमै ऐतिहासिक सफलता हात पारेको हो।

मोस्का दाजुभाइको शतकिय साझेदारी

एन्थोनी मोस्का र जस्टिन मोस्काले उत्कृष्ट प्रदर्शन गर्दै अविजित शतकिय साझेदारी गरे। पावर प्ले (पहिलो ६ ओभर)मै ६८ रन जोड्दै उनीहरूले जितको बलियो आधार तयार पारेका थिए। दुवैले ११औं ओभरमा अर्धशतक पूरा गरे—सन्दीप लामिछानेले बलिङ गरेको उक्त ओभरमा जस्टिनले सिंगल लिएर अर्धशतक पुर्‍याए भने एन्थोनीले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे।

नेपालका बलरहरूलाई कुनै अवसर नदिँदै मोस्का दाजुभाइले संयमित र आक्रामक ब्याटिङको सन्तुलन प्रस्तुत गरे।

नेपाल १२३ रनमै अलआउट

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै समेटिएको थियो। इटलीका स्पिनरहरूको अनुशासित र सटीक बलिङ सामु नेपाली ब्याटरहरू संघर्षरत देखिए।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। कप्तान रोहित पौडेलले १४ बलमा दुई छक्का प्रहार गर्दै २३ रन जोडे भने आसिफ शेखले २० बलमा २० रन बनाए। उपकप्तान दीपेन्द्र सिंह ऐरीले १८ बलमा १७ रन जोडे। करण केसीले अन्त्यतिर ११ बलमा अविजित १८ रनको केमियो इनिङ्स खेले। अन्य कुनै पनि ब्याटरले २० रनको आँकडा पार गर्न सकेनन्।

ओपनर कुशल भुर्तेल ५ रनमै आउट हुँदा नेपालको सुरुआत कमजोर रह्यो। पहिलो विकेटपछि रोहित र आसिफबीच ४१ रनको साझेदारी बने पनि ४९ रनको अवस्थामा दुवै आउट भएपछि नेपाल दबाबमा परेको थियो। आसिफलाई विकेटकिपर जियान पिएरो मिडले चतुर ढंगले स्टम्प आउट गरेका थिए।

त्यसपछि दीपेन्द्र र आरिफबीच चौथो विकेटका लागि ४४ रनको साझेदारी भए पनि नियमित अन्तरालमा विकेट झर्दा नेपाल ठूलो स्कोरतर्फ अघि बढ्न सकेन। १७औं ओभरमा गुल्सन झा (३) र नन्दन यादव (०) आउट हुँदा इनिङ्स थप दबाबमा पर्‍यो।

स्पिन आक्रमण हावी

इटलीका स्पिनरहरूले खेलमा पूर्ण नियन्त्रण जमाए। लेगस्पिनर क्रिसन कालुगमागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। अफस्पिनर बेन्जामिन मानेन्टीले ४ ओभरमा मात्र ९ रन दिँदै २ विकेट लिए। अन्य स्पिनर जे जे स्मट्सले १ विकेट हात पारे। पेसर अली हसन र जसप्रित अलीले समान १–१ विकेट लिए भने एक विकेट रनआउटमार्फत् प्राप्त भयो।

बिग बास लिगमा सिड्नी सिक्सर्सबाट खेलिसकेका मानेन्टी हालै इटली टोलीमा समावेश भएका हुन्। विश्वकपअघि सीमित सफलता पाएका उनले नेपालविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै खेलको गति मोडिदिए।

नियमित कप्तान वायन म्याडसन घाइते भएपछि इटलीको नेतृत्व यस खेलमा ह्यारी मानेन्टीले सम्हालेका थिए। लगातार दुई हारसँगै नेपाल अंकविहीन रहँदा अब बाँकी खेलहरू ‘गर या मर’को अवस्थामा पुगेका छन्।


Facebook Comments