अमेरिकासँगको व्यापार सम्झौताको भारतीय किसानद्वारा विरोध
मेयरसाप डेस्क
|
२०८२ माघ २९ गते १९:२५
एजेन्सी — अमेरिकासँग हालै घोषणा गरिएको व्यापार सम्झौताप्रति असन्तुष्टि जनाउँदै भारतीय किसानहरूले बिहीबार नयाँदिल्लीसहित देशका विभिन्न प्रमुख सहरहरूमा प्रदर्शन गरेका छन्। किसान संगठनहरूले उक्त सम्झौताले भारतीय कृषिमा गम्भीर असर पार्ने तथा कृषकको जीविकोपार्जन जोखिममा पार्ने चेतावनी दिएका छन्।
गत हप्ता सार्वजनिक गरिएको सम्झौताअनुसार भारतले सबै अमेरिकी औद्योगिक वस्तु तथा केही खाद्य र कृषि उत्पादनमा लाग्ने कर हटाउने वा घटाउने सहमति जनाएको छ। यसको बदलामा अमेरिकाले भारतबाट आयात हुने कपडा तथा तयारी पोशाक, छालाका जुत्ता तथा छालाजन्य सामग्री, प्लास्टिक, रबर, जैविक रसायन र केही मेसिनरी सामग्रीमा १८ प्रतिशत कर लगाउने व्यवस्था गरेको छ।
किसान संगठनहरूले संघीय सरकारले पूर्वप्रतिबद्धता विपरीत अमेरिकी कृषि क्षेत्रका ठूला कम्पनीहरूसामु ‘पूर्ण आत्मसमर्पण’ गरेको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा झन्डा र ब्यानरसहित किसान तथा ट्रेड युनियनका सदस्यहरूले र्याली निकालेका थिए। केही स्थानमा प्रहरीसँग सामान्य झडपसमेत भएको बताइएको छ। आयोजकहरूले सार्वजनिक गरेका तस्बिरहरूमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएको देखिन्छ।
प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले किसानहरूको आन्दोलनप्रति समर्थन जनाउँदै सामाजिक सञ्जालमार्फत् किसानहरूको जीविकोपार्जनमा सम्भावित असरबारे चिन्ता व्यक्त गरेका छन्।
यद्यपि, मोदी सरकारले संवेदनशील कृषि उत्पादन, दुग्ध तथा कुखुरापालन क्षेत्रलाई सम्झौताको दायराबाट बाहिर राखिएको दाबी गर्दै किसानको चासो सम्बोधन गरिएको जनाएको छ।
भारतमा कृषि क्षेत्रले करिब ४५ प्रतिशतभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष वा परोक्ष रूपमा रोजगारी प्रदान गर्दै आएको छ। साना तथा प्रायः कम उत्पादनशील व्यक्तिगत फार्महरूमा आधारित कृषि प्रणालीलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउन भारतका विभिन्न सरकारले ऐतिहासिक रूपमा संरक्षणात्मक नीति अवलम्बन गर्दै आएका छन्।
बिहीबारको प्रदर्शनले सन् २०२० र २०२१ मा भएको व्यापक किसान आन्दोलनको स्मरण गराएको छ। त्यतिबेला किसानहरूले महिनौंसम्म नयाँदिल्लीका राजमार्ग अवरुद्ध गर्नुका साथै लालकिल्ला परिसरमा ट्याक्टरसहित प्रदर्शन गरेका थिए। ती आन्दोलनको दबाबपछि सरकारले कृषि सुधारसम्बन्धी विवादित कानुन फिर्ता लिन बाध्य भएको थियो।
Facebook Comments