Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

User Image मेयरसाप डेस्क | २०८२ माघ २९ गते १९:२०
Image of https://mayorsap.com/storage/photos/shares/mahasivarati-in-tudhikhel-nepali-sena.jpeg

काठमाडौँ — नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको निरीक्षण प्रधानसेनापति अशोकराज सिग्देलले गरेका थिए।

पूर्वाभ्यासका क्रममा प्रधानसेनापति सिग्देलले श्री नं. १ विपद् व्यवस्थापन गण, श्री नं. २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गरे।

त्यसैगरी, केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता–२०८२ मा प्रथम र द्वितीय स्थान हासिल गर्ने क्रमशः श्री उपत्यका पृतना र श्री मध्यपश्चिम पृतनालाई पुरस्कृत गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति व्यानर प्रतियोगिता–२०८२ अन्तर्गत युद्धक गण, युद्ध मद्दती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमशः नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण र इन्द्रदल गुल्मलाई पुरस्कार प्रदान गरिएको छ। साथै, उक्त प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य युनिटहरूलाई पनि सम्मान गरिएको थियो।

प्रकृति संरक्षण ट्रफी प्रतियोगिता–२०८२ अन्तर्गत गण तथा गुल्म तहमा प्रथम स्थान हासिल गर्ने चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सङ्ग्राम शार्दूल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको छ।

यस अवसरमा प्रधानसेनापति सिग्देलले सेना दिवस–२०८२ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशानबाट विभूषित रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका सैनिकलाई उक्त निशान प्रदान गरे। मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकलाई दर्ज्यानी चिन्ह पनि प्रदान गरिएको थियो।

अवकाशपश्चात् समाजमा उल्लेखनीय योगदान पुर्‍याएका उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत सम्मान गरिएको छ। सेना दिवस–२०८२ हरेक वर्ष महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमसहित मनाइन्छ। यस वर्ष महाशिवरात्रि पर्व आगामी फागुन ३ गते परेको छ।


Facebook Comments