जंगली रातो बाँदर एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषित
मेयरसाप डेस्क
|
२०८२ माघ २९ गते १९:०५
काठमाडौं — सरकारले जंगली रातो बाँदरलाई पुनः ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ। वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै एक वर्षका लागि उक्त निर्णय लागू हुने जनाएको हो।
यसअघि पनि सरकारले गत वर्ष माघमा पहिलो पटक जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो। पछिल्लो समय बालीनालीमा बाँदर तथा जंगली बँदेलको आक्रमण बढ्दै जाँदा किसानहरू प्रभावित भइरहेका छन्।
के पाइन्छ, के पाइँदैन?
सूचना अनुसार, जंगली रातो बाँदर निजी खेत, खला वा बारीमा प्रवेश गरी बालीनाली वा जनधनमा क्षति पुर्याएमा सम्बन्धित जग्गाधनीले तोकिएका सर्त पूरा गरी विनाअनुमति धपाउन, लखेट्न वा पक्रन सक्नेछन्। किसानले एक्लै वा सामूहिक रूपमा यस्तो कार्य गर्न पाउने व्यवस्था गरिएको छ।
धपाउने वा लखेट्ने क्रममा बाँदरको मृत्यु भएमा त्यसबापत कारबाही नहुने उल्लेख गरिएको छ। तर, बाँदर पक्रिएको अवस्थामा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्नेछ।
यदि धपाउने क्रममा बाँदर मरेमा सम्बन्धित वडाका कम्तीमा एक जना जनप्रतिनिधि र स्थानीय पाँच जनाको रोहबरमा गाड्न सकिनेछ। त्यसबारे निकुञ्ज वा वन कार्यालय तथा सम्बन्धित वडालाई जानकारी गराउनुपर्नेछ।
त्यस्तै, बाँदर मरेको विवरण सम्बन्धित कार्यालयहरूले हरेक दुई–दुई महिनामा मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
संरक्षित क्षेत्रमा भने निषेध
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रमा भने जंगली रातो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन नपाइने स्पष्ट गरिएको छ।
सरकारको यो निर्णयले कृषकलाई राहत दिने अपेक्षा गरिएको छ भने वन्यजन्तु व्यवस्थापनमा स्थानीय तह र सम्बन्धित निकायको भूमिका अझ महत्वपूर्ण बन्ने देखिएको छ।
Facebook Comments