आजपाको घोषणापत्र सार्वजनिक: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि ‘राइट टु रिकल’सम्मका प्रतिबद्धता (पूर्णपाठ)
मेयरसाप डेस्क
|
२०८२ माघ ३० गते १७:३०
काठमाडौं। आम जनता पार्टी (आजपा) ले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष प्रभु साह, नेता ऋषिराज धमला र सहअध्यक्ष तिलक थापा मगरलगायतले घोषणापत्र सार्वजनिक गरेका हुन्।
आजपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली स्थापना गर्ने, करको अधिकतम सीमा निर्धारण गर्ने र आधारभूत सेवाहरू निःशुल्क उपलब्ध गराउनेजस्ता संरचनात्मक सुधारका एजेन्डा अघि सारेको छ।
शासन प्रणालीमा संरचनागत परिवर्तन
घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था लागू गर्ने प्रतिबद्धता गरिएको छ। संघ र प्रदेश दुवै तहमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने प्रस्ताव गरिएको छ।
निर्वाचित जनप्रतिनिधिले अपेक्षित कार्यसम्पादन नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ व्यवस्था सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
सरकारले कुल गार्हस्थ उत्पादन (GDP) को २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक प्रावधान राख्ने प्रस्ताव पनि घोषणापत्रमा समेटिएको छ। गैरआवासीय तथा विदेशीलाई नागरिकता दिने विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने एजेन्डा समेत अघि सारिएको छ।
सुशासन र न्यायिक सुधार
भ्रष्टाचार नियन्त्रणका लागि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना निर्माण गर्ने प्रतिबद्धता आजपाले जनाएको छ। सरकारी खर्च तथा विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरी पारदर्शिता सुनिश्चित गर्ने योजना अघि सारिएको छ।
नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेता वा व्यक्तिको सम्पत्ति जफत गरी कडा कारबाही गर्ने, न्यायालयको पूर्ण डिजिटलीकरण गर्ने तथा पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ।
रोजगारी, आईटी र उद्यमशीलता
आजपाले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ।
नेपाललाई ‘ग्लोबल आईटी हब’का रूपमा विकास गर्ने लक्ष्यसहित युवा उद्यमीलाई १० देखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना अघि सारिएको छ।
शिक्षा, स्वास्थ्य र खेलकुद
घोषणापत्रमा पूर्ण साक्षर राष्ट्र निर्माण गर्ने, स्मार्ट कक्षाकोठा विस्तार गर्ने तथा ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता गरिएको छ।
स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड लागू गर्ने, गम्भीर रोगको पूर्ण निःशुल्क उपचारको व्यवस्था गर्ने र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना समावेश गरिएको छ।
पूर्वाधार र डिजिटल विकास
मुख्य राजमार्गहरूको स्तरोन्नति गर्ने, सडक सुरक्षाका लागि उच्च प्रविधिमा आधारित निगरानी प्रणाली जडान गर्ने तथा ठूला सहरहरूमा व्यवस्थित सार्वजनिक पार्किङको व्यवस्था गर्ने एजेन्डा घोषणापत्रमा राखिएको छ।
राजमार्ग क्षेत्रमा अप्टिकल फाइबर विस्तार गर्दै डिजिटल करिडोर विकास गर्ने लक्ष्य पनि आजपाले अघि सारेको छ।
Facebook Comments