किन डिफेन्समा गए नेता ? कहाँ हरायो गाडी–घोडासहितको चुनाव प्रचारको भीड ?
रामचन्द्र मिश्र
|
२०८२ फागुन १ गते १९:२९
काठमाडौं । अप्रत्यासित रुपमा आउँदै गरेको चुनावले नेपाल विश्वभर नै फेरि चर्चामा छ । साउथ एसियामा बंगलादेशपछि राजनीतिक परिवर्तनको मुद्दा नेपालले उजागर गरिरहेको छ । बंगलादेशले चुनाव गराइसक्यो । नेपाल चुनाव गराउने तरखरमा छ । तर रोचक कुरा के छ भने—यो चुनावमा धेरै उम्मेदवार आक्रमकभन्दा बढी रक्षात्मक देखिएका छन् ।
अगाडिका चुनावमा लस्करका लस्कर गाडीका ताँती लगाएर हिड्ने उम्मेदवार एकाधबाहेक ठ्याक्कै उल्टो अर्थात केही व्यक्ति साथमा लिएर मात्रै हिँडिरहेका छन् । रास्वपाका रवि र बालेनको टिममा अलिअलि भिड हिँडेको देखिन्छ । अगाडिका चुनावसँग तुलना गर्ने हो भने कांग्रेसको सभापति नै भएका गगनको अघिपछि एक दुई दिन गाडीका ताँती लगाएको देखिए पनि पछिल्लो समय त्यस्तै देखिँदैन । एमालेका अध्यक्ष नै भएका केपी ओली समेत घरघरमा मान्छे भेटेर मत माग्दै हिँडेको देखिन्छ ।
आखिर किन यस्तो भइरहेको छ त ? यो पंक्तिकार आज मात्रै सिन्धुली क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार उज्जल बरालले बोलाएको सञ्चारकर्मीहरुसँगको भेटघाटमा सहभागी हुँदा यसको केही कारण पत्ता लगाएर आएको छ । उम्मेदवारलाई यत्ति थाहा भइसकेको छ कि, अपेक्षाअनुसार, आश्वासन अनुसार नागरिकका काम गर्न बिगतमा चुकेका कारण बिद्रोह भएको हो र त्यो बिद्रोहले झक्झकाएका नेपालीका अगाडि तामझामका साथ मत माग्न हिँड्दा कहिल्यै सकारात्मक परिणाम आउँदैन ।
पशुपति प्रसाद फिल्ममा एक क्यारेक्टरले पैसाको बोरै ल्याएर पैसा बाँड्दा भनेथे–‘यतिबेला सकभर हामी गरिब भएको देखाउनुपर्छ ।’ अहिले राजनीतिक दलहहरुले यही शैली अपनाउन थालेका छन् । चुनाव जसरी नि जित्नु छ, सकभर समस्याहरु सुनिदिने, आफ्ना ठूला ठूला भाषणहरु नदिने । सभा सम्मेलन कम गर्ने । बरु प्रत्येकलाई भेटेर उनीहरुसँग आत्मिय सम्बन्ध बनाउने । धेरै मतदाता भएका बस्तीहरुमा बढी सहभागिता जनाउने । डिजिटल प्रचार गर्ने ।
एमाले, कांग्रेस र नेकपाका उम्मेदवारहरु यत्ति रक्षात्मक बन्नुको कारण सत्ताको बोझ, विगतको प्रदर्शन, र जनअपेक्षाको दबाब नै भएको स्पष्ट बुझिन्छ । विगतको शासन अनुभव यिनीहरुलाई रक्षात्मक बनाउने सबैभन्दा ठूलो अनुभव हो । यी दलहरू पटक–पटक सत्तामा पुगे । उनीहरूले सरकार चलाए, नीति बनाए, बजेट खर्च गरे । त्यसैले अहिले चुनावी मैदानमा उभिँदा उनीहरूलाई आफ्नै कामको हिसाब दिनुपर्छ । बेरोजगारी, महँगी, भ्रष्टाचार, विकासका अधुरा वाचा—यी सबै प्रश्नको केन्द्रमा उनीहरू नै छन् । जब प्रश्नको घेरामा परिन्छ, स्वाभाविक रूपमा बचाउको भाषा प्रयोग हुन्छ । यही मनोविज्ञानले उनीहरूलाई रक्षात्मक बनाइरहेको छ ।
दोस्रो आधार हो—भ्रष्टाचार र सुशासनको आरोप–प्रत्यारोप । पछिल्ला वर्षहरूमा नीतिगत निर्णय, ठेक्का–प्रक्रिया, शक्ति–सन्तुलन, गठबन्धनको अस्थिरता जस्ता विषयले ठूला दलहरूलाई आलोचनाको घेरामा राखेको छ । उम्मेदवारहरू प्रतिपक्षीको आक्रमणभन्दा पहिले नै “हामीले गल्ती गर्यौ, अब सुध्रिन्छौ” भन्ने सन्देश दिन बाध्य छन् । यो ‘ड्यामेज कन्ट्रोल’ रणनीति हो । जब राजनीति डिफेन्स मोडमा जान्छ, भाषणको धार कम र स्पष्टीकरणको मात्रा बढी हुन्छ ।
तेस्रो कारण हो—गठबन्धन राजनीति । एक–अर्कालाई आलोचना गर्दै आएको इतिहास भएका दलहरू जब सरकार बनाउने, बजेट छुट्याउने र संबैधानिक नियुक्ति गर्ने काम आउँथ्यो, सधैँ मिलेकै हुन्थे । तर जब जनताले विकास माग्छन्, प्रश्न गर्छन, एकले अर्कोलाई सत्तोसराप गर्न थालिहाल्थे । अहिले हरेक नागरिकको मोबाइलमा ती सबै प्रमाणहरु सुरक्षित नै छन् । बेलाबेला सञ्जालमा छाइरहेका छन् । यिनै कारण उम्मेदवारहरू अत्यन्त सावधानी अपनाइरहेका छन् । किनकि कडा आक्रमणले भोलिको सहकार्यमा असर पार्न सक्छ । भोलि उत्तर दिनुपर्ने पनि हुन्छ । त्यसैले उनीहरूको भाषाशैली संयमित र बचाउमुखी देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी अरुभन्दा अलि फरक हुन खोजिरहेको छ । तुलनात्मक रूपमा नयाँ पार्टी र युवाको प्रतिनिधित्व भएको रास्वपाले विगतको शासनको भारी बोक्नु पर्दैन । उसँग “हामीले गल्ती गरेका छैनौं” भन्नुपर्ने दबाब अरुभन्दा धेरै नै कम छ । त्यसैले उसले पुराना दलहरूलाई खुला रूपमा चुनौती दिइरहेको छ । यो आक्रमक रणनीति हो —जसले जनताको असन्तुष्टिलाई आफ्नो पक्षमा मोड्ने प्रयास गर्छ ।
रास्वपा उग्र देखिनुको अर्को कारण हो—राजनीतिक स्पेस कब्जा गर्ने रणनीति । जब ठूला दलहरू रक्षात्मक छन्, तब आक्रमक सन्देशले सजिलै ध्यान तान्छ । तर प्रश्न उठ्छ—के रक्षात्मक हुनु कमजोरी हो ? सधैं होइन । कहिलेकाहीँ रक्षात्मक हुनु भनेको उत्तरदायित्व लिनु पनि हो । तर जब रक्षात्मकता अत्यधिक हुन्छ, त्यसले आत्मविश्वासको कमी देखाउँछ । जनताले स्पष्ट दृष्टि, स्पष्ट योजना र भविष्यको खाका खोजिरहेका छन् । यदि उम्मेदवारहरू केवल विगतको बचाउमै सीमित भए भने, त्यो रणनीति दीर्घकालीन रूपमा प्रभावकारी नहुन सक्छ ।
अन्ततः चुनावी राजनीति भावनात्मक र मनोवैज्ञानिक खेल पनि हो । जसले आक्रामक रूपमा कथा निर्माण गर्छ, उसले विमर्श नियन्त्रण गर्छ । जसले बचाउमा समय खर्च गर्छ, ऊ कथाको केन्द्रमा भए पनि नियन्त्रणमा हुँदैन । अहिलेको परिदृश्यले यही देखाउँछ—ठूला दलहरू आफ्नो विगतको उत्तरदायित्वका कारण रक्षात्मक छन्, जबकि रास्वपा ‘नयाँ विकल्प’को ब्रान्डमा आक्रमक रूपमा उभिएको छ । अब निर्णय जनताको हातमा छ—उनीहरूले अनुभव रोज्छन् कि परिवर्तनको नारालाई समर्थन गर्छन् ।
Facebook Comments